• २०८३ असोज २७ गते मङ्गलवार
  • Preeti To Unicode

राष्ट्रिय हित र स्वाधीन निर्णय क्षमतामा आधारित परराष्ट्र नीति आवश्यक : कांग्रेस

राष्ट्रिय हित र स्वाधीन निर्णय क्षमतामा आधारित परराष्ट्र नीति आवश्यक : कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय हित, सार्वभौमिक समानता, स्वतन्त्र निर्णय क्षमता र पारस्परिक सम्मानमा आधारित परराष्ट्र नीति आवश्यक रहेको स्पष्ट पारेको छ। पार्टीको महाधिवेशनमा सभापति गगन थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा छिमेकी तथा मित्रराष्ट्रसँग आपसी हित र आर्थिक साझेदारी विस्तार गर्दै नेपाललाई विश्व समुदायमा शान्त, स्वाभिमानी र स्वतन्त्र राष्ट्रका रूपमा स्थापित गर्ने नीति अघि सारिएको छ।

सभापति थापाले बढ्दो भूराजनीतिक प्रतिस्पर्धाले नेपालको आर्थिक सम्बन्ध, नागरिकको सुरक्षा तथा स्वतन्त्र निर्णय क्षमतामा थप दबाब सिर्जना गरिरहेको उल्लेख गर्दै त्यसलाई दीर्घकालीन दृष्टिकोणबाट सम्बोधन गर्नुपर्ने बताएका छन्। उनका अनुसार बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिमा नेपालले आफ्नो राष्ट्रिय हितलाई केन्द्रमा राखेर सन्तुलित र प्रभावकारी कूटनीति सञ्चालन गर्न आवश्यक छ।राजनीतिक प्रस्तावमा विदेशमा रहेका नेपालीहरूको सुरक्षा, सम्मान र अवसर सुनिश्चित गर्नुपर्नेमा पनि जोड दिइएको छ। विदेशमा रहेका नेपालीको ज्ञान, सीप, लगानी तथा आर्थिक सम्बन्धलाई नेपालको राष्ट्रिय समुन्नतिसँग जोड्दै उनीहरूलाई विकासको साझेदार बनाउने नीति आवश्यक रहेको प्रस्तावमा उल्लेख छ।

थापाले राष्ट्रिय स्वाधीनता सीमाको रक्षा र कूटनीतिक स्वतन्त्रतामा मात्र सीमित नरहेको बताएका छन्। ऊर्जा, वित्त, प्रविधि, आपूर्ति प्रणाली तथा कूटनीतिका क्षेत्रमा आफ्ना निर्णय स्वतन्त्र रूपमा कार्यान्वयन गर्न सक्ने राष्ट्रिय सामर्थ्य निर्माण गर्नु पनि स्वाधीनताको महत्वपूर्ण आधार भएको उनको प्रस्तावमा उल्लेख छ।त्यसैगरी, कूटनीतिक सेवामा योग्यता, क्षमता र इमानदारीका आधारमा नियुक्ति गर्नुपर्ने तथा प्रविधि, ज्ञान र वित्तीय सम्बन्धका क्षेत्रमा नेपालको स्वाधीनता र विकल्पलाई सुदृढ बनाउनुपर्नेमा कांग्रेसले जोड दिएको छ। प्रस्तावले नेपालको परराष्ट्र नीतिलाई राष्ट्रिय हित, आर्थिक सामर्थ्य र रणनीतिक स्वाधीनतासँग जोडेर अघि बढाउने दृष्टिकोण प्रस्तुत गरेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार