काठमाडौं । इजरायलमा केयरगिभर रोजगारीका लागि पठाइदिने प्रलोभन देखाएर २ करोड ५० लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। पक्राउ पर्नेमा रामेछापको सुनापती गाउँपालिका–१ का ५९ वर्षीय भरत प्रसाद चौलागाईंलगायत चार जना रहेका छन्। उनीहरूमाथि ठगी, आपराधिक विश्वासघात तथा संगठित अपराध निवारण ऐनअन्तर्गत अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
सीआईबीका अनुसार नेपाल सरकार र इजरायल सरकारबीच भएको सरकार–सरकार (G2G) सम्झौताअनुसार सन् २०२४ मा सञ्चालित केयरगिभर परीक्षामा उत्तीर्ण भई प्रतीक्षा सूचीमा रहेका व्यक्तिहरूलाई लक्षित गरी ठगी गरिएको हो। परीक्षामा कुल ३ हजार ४६१ जना उत्तीर्ण भएकामध्ये प्रतीक्षा सूचीमा रहेका १ हजार १५२ जनालाई लक्षित गर्दै पहिलो चरणमा १५६ जनालाई मन्त्रिपरिषद्बाट विशेष निर्णय गराएर तत्काल इजरायल पठाइदिने भन्दै झुट्टा आश्वासन दिइएको अनुसन्धानबाट खुलेको छ।
आरोपित समूहले आफूहरूको प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग प्रत्यक्ष चिनजान रहेको दाबी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका फर्जी कागजातसमेत तयार गरी पीडितहरूलाई देखाएको सीआईबीले जनाएको छ। वैदेशिक रोजगारीमा जाने तीव्र चाहना र अन्योलमा रहेका युवाहरूको अवस्थाको फाइदा उठाउँदै उनीहरूले विभिन्न व्यक्तिबाट हालसम्म २ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम असुल गरेको अनुसन्धानबाट खुलेको बताइएको छ। पक्राउ परेका चारै जनालाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको छ। यस घटनामा विभिन्न किसिमका भ्रम वा प्रलोभनमा परी आरोपितहरूबाट ठगिएका अन्य व्यक्तिहरूलाई समेत यथाशीघ्र सीआईबीमा उपस्थित भई जाहेरी दरखास्त दिन प्रहरीले आग्रह गरेको छ।