22.1 C
Kathmandu
Friday, March 29, 2024
spot_img

योगलाई अभियानका रुपमा लैजानुपर्छः नेता पोख्रेल

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता गिरिराजमणि पोख्रेलले योगलाई अभियानको रुपमा चलाउन आवश्यक रहेको बताउनुभएको
छ । योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयले आज यहाँ आयोजना गरेको आठौँ अन्तर्राष्ट्रिय योग दिवस समारोहमा बोल्दै उहाँले योगलाई सामाजिक अभियानका रुपमा अघि बढाउन सके स्वस्थ रहन सकिने बताउनुभएको हो ।

योग ध्यानको प्रतिपादन गर्ने देश नेपाल भएको भन्दै उहाँले यसलाई समयानुकूल बनाउँदै लैजानु आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “योग अहिलेको युगअनुरुप रहेको छ । यसलाई समयानुकूल बनाउँदै लैजानुपर्छ ।” आफू शिक्षामन्त्री हुँदा योगलाई पाठ्यक्रममा समावेश गर्ने भनी निर्णय गरेको जानकारी गराउँदै उहाँले यसलाई पाठ्यक्रममा राखेर स्कुलदेखि नै सिकाउँदै लैजानुपर्ने बताउनुभयो । शिक्षा क्षेत्रमा यसको विकासले समाजको परिवर्तन सम्भव हुने उहाँको भनाइ थियो ।

फरक प्रसङ्गमा बोल्दै उहाँले तत्काल माओवादी केन्द्र मन्त्री फेरबदलको पक्षमा नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारको नीति तथा कार्यक्रममा छलफल भइरहेको छ । यो समयमा मन्त्री फेरबदल गर्नु राम्रो हुँदैन ।” अर्थमन्त्रीले र सरकारका मन्त्रीहरुले संसद्मा जवाफ दिने क्रम जारी रहेको बताउँदै उहाँले पछिल्लो राजनैतिक गतिविधिका बारेमा केन्द्रको १५ गतेपछि बस्ने केन्द्रीय समितिको बैठकले निर्णय गर्ने बताउनुभयो ।

सो अवसरमा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले योगले जीवन परिवर्तन गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । त्रिभुवन विश्वविद्यालयका नारायण गौतमले योग जीवनको पद्धति भएको बताउनुभयो । म योगी हुँ भन्ने भावनाले यसको विकास गर्नु आवश्यक रहेको उहाँको भनाइ थियो ।

सो कार्यक्रममा चिकित्सालयका कार्यवाहक अध्यक्ष पूर्णबहादुर श्रेष्ठ, योगी नरहरिनाथ बागिश्वरी आश्रमका अध्यक्ष शैलेन्द्रकुमार पिया, चिकित्सालयका मेडिकल निर्देशक डा हेमराज कोइरालाले योगको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles