• २०८२ कार्तिक ९ गते शनिवार
  • Preeti To Unicode

कञ्चनपुरमा जलेको अवस्थामा एक शव फेला, प्रहरीद्वारा अनुसन्धान तीव्र


कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–१०, शिवनगरस्थित घटियाघाट रोड नजिकको क्षेत्रमा जलेको अवस्थामा एक शव फेला परेको छ। शव वैशाख ९ गते मंगलबार बिहान लगभग पौने ७ बजे फेला परेको हो।

स्थानीयहरूले बिहान खेततर्फ जाँदै गर्दा तोरीको भुसमा जलिरहेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा शवसँगै एउटा मोटरसाइकल पनि जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले शव फेला परेको घटनाको पुष्टि गर्दै हालसम्म शवको पहिचान हुन नसकेको जानकारी दिए। घटनास्थलमा प्रहरीको टोली पुगेर आवश्यक अनुसन्धान सुरु गरिसकेको छ।

एसपी जोशीका अनुसार घटनाको अवस्था शंकास्पद देखिएकाले विस्तृत अनुसन्धान अगाडि बढाइएको छ। शवको पोस्टमार्टम रिपोर्ट र फरेन्सिक परीक्षणपछि थप विवरण प्राप्त हुने अपेक्षा गरिएको छ।

यस घटनाले स्थानीय क्षेत्रमा सनसनी फैलाएको छ। प्रहरीले यस विषयमा कुनै पनि तथ्य बाहिर ल्याउन हतार नगर्ने बताएको छ। शव र मोटरसाइकल कसको हो भन्ने खुल्न बाँकी छ।

प्रकाशित मिति : २०८२ बैशाख ९ गते मङ्गलवार