भारतीय मन्त्री मनोहरलाल खट्टर नेपाल भ्रमणमा, कोशी करिडोर र अरुण तेस्रो जलविद्युत् आयोजनाको अवलोकन


काठमाडौं – भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर दुई दिने भ्रमणका लागि नेपाल आएका छन्। मन्त्री खट्टरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जा मन्त्रालय र काठमाडौंस्थित भारतीय दूतावासका अधिकारीहरूले भव्य स्वागत गरेका छन्।

मन्त्री मनोहरलाल खट्टर ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा नेपाल आएका हुन्। उनी यस भ्रमणको क्रममा नेपाल र भारत बीचको ऊर्जा क्षेत्रमा सहयोग बढाउने विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउनेछन्।

आज (वैशाख ९) मन्त्री खट्टर र मन्त्री दीपक खड्का संयुक्त रुपमा भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर 220 केभी प्रसारण लाइन र विभिन्न सबस्टेसनहरूको उद्घाटन गर्नेछन्। यस परियोजनाले नेपाल र भारतको बीचमा ऊर्जा सहयोगलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

यसै क्रममा, मन्त्री खट्टरले भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस र बाँध क्षेत्रको अवलोकन पनि गर्नेछन्। यस आयोजनाले नेपालको ऊर्जा क्षेत्रमा ठूलो योगदान पुर्याउने विश्वास गरिएको छ।

भारत र नेपाल बीचको ऊर्जा सहयोगमा थप प्रगति ल्याउनका लागि एक महत्त्वपूर्ण कदमका रूपमा खट्टरले संयुक्त प्रसारण लाइन निर्माण कम्पनीको सम्झौतामा हस्ताक्षर गर्नेछन्।

१० वैशाखमा मन्त्री खट्टर मुस्ताङको मुक्तिनाथ अवलोकन गर्नेछन् र त्यस दिन प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेट गर्नेछन्।

उनको भ्रमणको अन्तिम दिन, खट्टरले पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेछन् र त्यसपछि भारत फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : २०८२ बैशाख ९ गते मङ्गलवार