• २०८२ फाल्गुन २८ गते बिहिवार
  • Preeti To Unicode

शिक्षा ऐनको मागमा शिक्षकहरूको आन्दोलन २० दिनदेखि जारी, सरकारको प्रतिबद्धताप्रति अविश्वास


काठमाडौं – विद्यालय शिक्षा ऐन तुरुन्तै जारी गर्नुपर्ने मागसहित काठमाडौंको माइतीघर–बानेश्वर सडकखण्डमा शिक्षकहरूको आन्दोलन २० दिनदेखि निरन्तर जारी छ। मङ्गलबार, वैशाख ९ गते पनि शिक्षकहरू आन्दोलनमा सहभागी भएका थिए।

शिक्षकहरूले शिक्षा प्रणालीलाई कानुनी स्थायीत्व दिन ‘विद्यालय शिक्षा ऐन’ आवश्यक रहेको बताउँदै, सरकारले चाँडै ऐन ल्याउनुपर्ने माग गरेका छन्। उनीहरूले ऐन जारी नभएसम्म विद्यालय नफर्कने अडान दोहोर्‍याएका छन्।

सरकारले आगामी बजेट अधिवेशन (वैशाख १२) बाट विद्यालय शिक्षा सम्बन्धी विधेयक ल्याउने प्रतिबद्धता जनाए पनि शिक्षकहरू यसमा आशावादी छैनन्। उनीहरू भन्छन्, “कहिले पास हुन्छ भन्ने निश्चित छैन, हामी ठोस रूपमा ऐन जारी भएपछि मात्र आन्दोलन अन्त्य गर्छौं।”

यहीबीच, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्, जसले आन्दोलनको पृष्ठभूमिमा थप अन्यौलता र चासो बढाएको छ।

शिक्षकहरूको आन्दोलनका कारण देशभरका कैयौँ विद्यालयमा पठनपाठन प्रभावित भएको छ। विद्यार्थी र अभिभावकहरू समेत चिन्तित छन्।

हालसम्म सरकार र आन्दोलनरत शिक्षकबीच कुनै निर्णायक सहमति जुट्न सकेको छैन। ऐन जारी नभएसम्म आन्दोलन जारी रहने स्पष्ट अडान शिक्षकहरूले लिएका छन्।

प्रकाशित मिति : २०८२ बैशाख ९ गते मङ्गलवार