काठमाडौं – बहुप्रतिक्षित नेपाली फिल्म ‘नरसिंहाः अवतार’ आगामी जेठ ९ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। फिल्मको नयाँ पोस्टर सार्वजनिक भएसँगै दर्शकको उत्साह थप चुलिएको छ। पोस्टरमा मुख्य कलाकारहरूलाई दमदार अवतारमा देखाइएको छ, जसले फिल्मप्रतिको जिज्ञासा अझ बढाएको छ।
महानायक राजेश हमालको प्रमुख भूमिकासहित फिल्ममा नीति शाह, राज कटुवाल, सनिषा भट्टराई, सरोज खनाल, नीर शाह, प्रशान्त ताम्राकार, उषा खड्गी, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, दीपा शाही, प्रकाश कुँवर, राजिव जंग बस्नेत र टार्जन लगायतका कलाकारहरूको अभिनय देख्न पाइनेछ।
दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्मले सस्पेन्स, एक्सन र ड्रामाको संयोजनमार्फत दर्शकलाई मनोरञ्जन दिने अपेक्षा गरिएको छ। फिल्मको कथा चन्द्र पन्तले तयार पारेका हुन् भने एक्सन निर्देशन राजु तामाङले गरेका छन्।
हालै सार्वजनिक गरिएको फिल्मको ‘अच्छा लेकिन लन्डनको चिसोले समाउला’ बोलको गीतले सामाजिक सञ्जालमा निकै चर्चा बटुलिरहेको छ। यस गीतले फिल्मप्रतिको उत्साहलाई झनै बढाएको छ।
फिल्मको कोरियोग्राफी कविराज गहतराज र माइकल चन्द, छायांकन राजु विक्रम थापा, VFX समीर मिया, सम्पादन साहिल खान र मिलन श्रेष्ठ, र पोस्टर डिजाइन राकेश दाहालले गरेका हुन्।
क्रियटिभ सिने आर्टसको ब्यानरमा बनेको फिल्मका निर्माता नेम महर्जन हुन् भने दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपाने लगानीकर्ता रहेका छन्।
फिल्मको प्रस्तुत विषयवस्तु, स्टारकास्ट, प्रविधि र संगीतले नेपाली फिल्म उद्योगमा नयाँ उचाइ दिनसक्ने अपेक्षा गरिएको छ।