काठमाडौँ– दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ। चण्डीप्रसाद गणका २११ नेपाली शान्ति सैनिकहरूको टोली सेनानी मिलन आचार्यको नेतृत्वमा नेपालबाट राति दक्षिण सुडानका लागि प्रस्थान गरेका छन्।
यो टोली अरिदमन गण (शान्ति सेना) दशौँ डफ्फा तैनाथ सैनिकहरूको स्थान लिने उद्देश्यले पठाइएको हो। यसअघि, दशौँ डफ्फामा तैनाथ २१३ नेपाली शान्ति सैनिकहरू, प्रमुख सेनानी महेश्वर सिलवालको नेतृत्वमा शनिबार स्वदेश फर्केका थिए।
नेपाली सेनाबाट हाल सोही मिसनमा १,७५६ जना शान्ति सैनिकहरू कार्यरत छन्, जसमा सेक्टर कमाण्डर, सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत, दुई वटा गण र एउटा गुल्म समावेश छन्। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, यो दललाई शान्ति र सुरक्षा कायम राख्न महत्त्वपूर्ण जिम्मेवारी दिइएको छ।