काठमाडौँ – गोरखा नगरपालिका-७, मान्द्रेढुङ्गास्थित एक स्थानमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुने व्यक्ति आरुघाट गाउँपालिका-६, कल्लेरीका २७ वर्षीय हरि बिक हुन्। आइतबार बिहान करिब ७:३० बजे डिस्क होम फाइबर नेटको तार मिलाउने क्रममा बिजुली पोल चढ्दा उनलाई करेन्ट लागेको थियो।
गम्भीर घाइते भएका बिकलाई उद्धार गरी गोरखा अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषित गरे।
प्रहरी निरीक्षक ध्रुव शर्माका अनुसार पोलमा एक्कासि करेन्ट आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। प्रारम्भिक अनुसन्धानका अनुसार बिजुलीको उचित सुरक्षा उपाय नअपनाइएका कारण यस्तो घटना भएको हुनसक्छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्थानीयबासीले यस्ता घटनाहरू दोहोरिन नदिन उचित सुरक्षा मापदण्ड अपनाउनुपर्ने माग गरेका छन्।