19.1 C
Kathmandu
Friday, March 29, 2024
spot_img

वीरगञ्ज समाचार : लाटोकोसेरोसहित दुई भारतीय पक्राउ

पर्सा प्रहरीको टोलीले लाटोकोसेरोसहित दुई भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार पश्चिम चम्पारण थाना बागाहा ग्राम औसानी १ का ४२ वर्षीय मृतुन्जय सिंह र भारत विहार पश्चिम चम्पारण थाना नरकटियागञ्ज ग्राम मनिहारी–३ का ३५ वर्षीय शेख अनवर रहेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।

पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरको गोरेटो बाटो हुँदै अवैधरूपमा लाटोकोसेरो नेपालबाट भारततर्फ लाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो । लाटोकोसेरोलाई डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई वन्यजन्तु सरंक्षण ऐनसम्बन्धी कसूर मुद्दा अन्तर्गत कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

हत्या अभियोगमा एक पक्राउ

प्रहरीले २३ वर्षीय युवकको हत्याको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पर्साको ठोरी गाउँपालिका– ५ ठूलो बाघमोर्चा बस्ने वर्ष २३ का प्रवीण पाख्रिनको हत्या आरोपमा १७ वर्षीय एक युवकलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।

पक्राउ गरिएकाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । हालसम्मको अनुसन्धानबाट खुलेका अन्य तीन फरार रहेकाले उनीहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको हो । गत जेठ ६ गते ठोरी गाउँपालिका– ५ बाघमोर्चा मन्दिरको छेउमा अज्ञात व्यक्तिले ढुङ्गाले टाउँको र अनुहार समेतमा प्रहार गरी बेहोस् भएका पाख्रिनको वीरगञ्जस्थित एलएस न्यूरो हस्पिटलमा उपचारका क्रममा आइताबार मत्यु भएको थियो ।

बन्दुकसहित पक्राउ

पर्सा प्रहरीको टोलीले १२ बोरको एक नाले घरेलु बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष सूचनाका आधारमा पर्सागढी नगरपालिका– ९ बस्ने वर्ष २७ का मनोज भन्ने शिवु माझी मुसहरलाई बन्दुकसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।

बन्दुक बोकी बडेर्वाबाट तेलिया टोलतर्फ जाँदै गरेको भन्ने सूचना प्राप्त भएपछि खोजतलास तथा अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय एकटाँगा र अस्थायी प्रहरी पोष्ट मनवाबाट संयुक्त टोलीले तेलिया टोल जाने सडकखण्डबाट मुसहरलाई पक्राउ गरेको थियो ।

प्रहरी टोलीलाई देख्नासाथ भाग्ने खोजेका थिए । तर प्रहरीले सक्रियता देखाउँदै १२ बोरको १ नाले घरेलु बन्दुकसहित मुसहरलाई पक्राउ गर्न सफल भएको थियो । पक्राउ परेको मुसहरलाई हातहतियार तथा खरखजानासम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो ।

गाँजा बरामद

सशस्त्र प्रहरीको टोलीले बाराको पचरौतना नगरपालिका–९ बलधुसुवाबाट करिब ६४ किलो प्रतिबन्धित लागुऔषध बरामद गरेको छ ।

बारास्थित सशस्त्र प्रहरी बल नेपाल नं १२ गणका अनुसार प्याकिङ गरी कार्टुनमा तयार गरी राखिएको उक्त गाँजा बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापाले जानकारी दिनुभयो । प्याकिङ गरी टाउकोमा बोकी लैजाँदै गरेको अवस्थामा उक्त गाँजा फालेर चारजना मानिस फरार भएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गाँजा इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाउने तयारी भइरहेको छ ।

२० लाख मूल्य बराबरको सामान बरामद

भन्सार छलि ल्याएको करिब रु २० लाख मूल्य बराबरका विभिन्न किसिमका लत्ताकपडा लोड गरिएको सवारीसाधन प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । बरामद गरिएको सामग्री तथा सवारीसाधनलाई आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएकोे प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।

वीरगञ्ज महानगरपालिका–७ रामटोल नजिकै रेल्वेरोडबाट बा २० च ७८६४ नं को पिकअप गाडीलाई कपडाजन्य सामाग्रीसहित प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles