अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट डेढ महिनाभित्रमा पेट्रोल आयात हुँदै


काठमाडौं । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट अबको डेढ महिनामा पेट्रोल पनि आयात हुने भएको छ । मोतीहारी–अमलेखगञ्ज परियोजनाअन्तर्गत नेपाल आयल निगमले गत असोज १७ गते पाँच हजार पाँच सय किलोलिटर पेट्रोल पाइपलाइनबाट ल्याएर प्राविधिक परीक्षण गरिरहेको छ । अमलेखगञ्जस्थित निगम प्रादेशिक कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको पूर्वाधार निर्माण पूरा भएसँगै परीक्षणको काम प्रारम्भ भएको जानकारी दिए ।

परियोजनाको दोस्रो चरणअन्तर्गत ४१ सय किलोलिटर क्षमताका दुई वटा पेट्रोलका ट्याङ्कीलगायत पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन् । निगमले दोस्रो चरणको परियोजनाअन्तर्गत निर्माण गरेका उपकरण तथा पूर्वाधारको प्राविधिक जाँचको कामलाई तीव्रता दिइरहेको छ । दोस्रो चरणअन्तर्गत जडान भएका पेट्रोलका ट्याङ्की, मोटर, पम्प, पाइपलाइन, स्वचालित पेट्रोल भर्ने स्टेशनलगायत प्राविधिक पक्षको पनि परीक्षण भइरहेको छ ।

निगमकाअनुसार पेट्रोल पाइप लाइनबाट ल्याएसँगै ढुवानी खर्चको लागत प्रतिलिटर रु तीनका दरले एक अर्ब जोगिने छ । हाल पेट्रोल र मट्टितेल भारतको बरौनीबाट ट्याङ्करमा ढुवानी गर्दै आएको छ । पाइपलाइनबाट पेट्रोल ल्याउँदा ढुवानी खर्च र वातावरण प्रदूषण दुवै जोगिनेछ । डिजेल भने पाइप लाइनबाटै आयात भइरहेको छ ।

पहिलो चरणको पूर्वाधार निर्माणमा योजनामा भारतको तर्फबाट दुई अर्ब भारु खर्च भए पनि दोस्रो चरणको काम तत्कालै सुरु हुन सकेन । दोस्रो चरणको पाइप लाइन विस्तारको लागत बढेर भारु एक अर्ब ५४ करोड पुगेको छ । पहिलो चरणको काम सम्पन्न भई विसं २०७६ भदौ २५ गतेदेखि पाइप लाइनबाट डिजेल आयात भइरहेको निगमले छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ८ गते बिहिवार