Breaking विज्ञापन-सम्पार्क समाचार

तटबन्धले बस्ती सुरक्षित

Written by janaawaaj

जनकपुर, १० असार (रासस) ः कमला नदी नियन्त्रणका लागि तटबन्ध निर्माण भएपछि धनुषा र सिरहाको करिब दुई दर्जनभन्दा बढी गाउँ बस्ती डुबान र कटानबाट सुरक्षित भएका छन् ।

धनुषा र सिरहाको सिमानामा पर्ने कमला नदीमा आउने बाढीका कारण बर्सेनि डुबान र कटानको समस्या खेप्दै नदी आसपासको गाउँ बस्ती तटबन्ध निर्माणसँगै सुरक्षित भएका हुन् । तटबन्ध निर्माणसँगै धनुषाको गणेशमान चारनाथ नगरपालिका, सबेला नगरपालिका, शहीदनगर नगरपालिका, कमला नगरपालिका र जनकनन्दनी गाउँपालिका तथा सिरहाको कर्जन्हा नगरपालिका, कल्याणपुर नगरपालिका र सिरहा नगरपालिकाको विभिन्न वडाका गाउँ बस्ती सुरक्षित भएको स्थानीयले बताएका छन् ।

बस्ती संरक्षण तथा कटानमा परेका जग्गा उकासका लागि कमला नदी नियन्त्रण आयोजना जनकपुरधामले कमला नदीमा तटबन्ध निर्माण गरेपछि बस्ती मात्र सुरक्षित भएको छैन, ठूलो क्षेत्रफलमा जग्गा नदी उकाससमेत भएका छन् ।

बस्ती सुरक्षित बनाउन कमला खोलामा माटो, चपरी तथा ढुङ्गा हालेर तटबन्ध निर्माण गरेपछि धनुषा र सिरहाको करिब २६ हजार ८८७ घरधुरी लाभान्वित भएको कमला नदी नियन्त्रण आयोजना जनकपुरधामका प्रमुख विष्णुदेव यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार कमला नदीमा ६८ दशमलव २५ किलोमिटर तटबन्ध बनाउँदा दुवैतर्फ करिब दुई हजार ५०० हेक्टर जग्गा उकास भएको छ भने ५० हजार हेक्टर खेतीयोग्य जग्गा सुरक्षित भएका छन् । जसका कारण एक लाख ४५ हजार ६५३ प्रत्यक्ष लाभान्वित भएको प्रमुख यादवले बताउनुभयो ।

तटबन्ध निर्माणसँगै नदी कटान तथा डुबानबाट सुरक्षित भएको अनुभुति गर्दै स्थानीय किसान उकास भएका जग्गामा धमाधम खेतीपातीका साथै घेरबार गरी नर्सरीसमेत लगाउन थालेका छन् । नदीको बाढीले खेतीयोग्य जग्गा कटान गर्ने त्रासका कारण सस्तो मूल्यमा समेत नबिक्ने नदी छेउछाउको जग्गा तटबन्ध निर्माण भएपछि भने अहिले महँगो मूल्यमा बिक्री हुन थालेको छ ।

‘‘पहिला पहिला रु १० हजारमा कट्ठा पनि बिक्न मुस्किल थियो”, सिरहाको कल्याणपुर नगरपालिका–४ का उपेन्द्र यादवले भन्नुभयो, “बाँध बनेपछि अहिले त्यही जग्गा रु एक लाखदेखि डेढ लाखसम्ममा धमाधम बिक्री हुन थालेको छ ।” “नदीमा बाँध नहुँदा बर्सेनि बाढीले खेतीयोग्य जग्गा कटान गर्नुको साथै बाढी गाउँमै पस्ने जोखिम थियो”, यादवले भन्नुभयो, “पहिला पहिला वर्षायाम लाग्नासाथ कुन बेला कमलाको बाढीले गाउँ नै डुबान गर्छ, भन्ने गाउँलेमा चिन्ता हुन्थ्यो, तर बाँध बनेसँगै यो चिन्ता हटेको अनुभूति हुन थालेको छ ।”

केही वर्षअघि कमलाको बाढीले गाउँनै विस्थापित बनाएको सम्झिँदै सिरहाको कल्याणपुर नगरपालिका–७ निवासी रामलखन कारकले भन्नुभयो, “तर, अब गाउँ बस्ती पनि सुरक्षित भएको छ, जगगा कटानसमेत रोकिएको छ ।” “करिब एक दशकअघि बलान खोलाको बाढीले कटान गरेको नदी छेउको जग्गा अब उकास हुँदैन भनेर हामीले आश मारिसकेका थियौँ”, कारकले भन्नुभयो, “कमला नदीमा आएको बाढीले मेरो मात्रै करिब एक बिघा जग्गा कटान गरेको थियो, कटान भएको जग्गा अब फिर्ता आउँछ भन्नेर आशै थिएन्, तर बाँध निर्माण भएपछि गुमेको जग्गासमेत उकास भएको छ ।” जग्गा उकास भएपछि परिवारमा पुनः खुसियाली आएको उहाँको भनाइ छ ।

“बाँध नबनुञ्जेल कटान भएको जग्गाप्रति कसैको चासो थिएन, अहिले जग्गा उकास भएपछि कतिपय जग्गाधनी आफ्नो जग्गा हो भन्दै खनजोत गरेर खेतीपाती लगाउन थालेका छन् भने कतिपयमा घेरवार गरी वृक्षरोपणको काम भइरहेको छ”, कर्जन्हा नगरपालिका–५ का महेन्द्र महतोले भन्नुभयो, “नदी उकासको जग्गाले जग्गा गुमेको मात्र होइन, सो क्षेत्रका बिपन्न र दलित समुदायसमेत लाभान्वित भएका छन् ।”

नदी उकासमा परेको कतिपय जग्गा आफ्नो हो भन्दै जग्गाधनीले खेतीपाती गर्ने गरेका छन् भने खाली रहेको जग्गामा दलित, विपन्न परिवारले धान, गहुँ तथा तरकारी खेती गर्दै आएका छन् । बर्सेनि कमला नदीको बाढीका कारण कटान र डुबानको समस्या भोग्दै आएको नदी आसपासका स्थानीयको पीडा देखेरै तटबन्ध निर्माण गरिएको कमला नदी नियन्त्रण आयोजनाका प्रमुख यादवले बताउनुभयो ।

“बर्सेनि कमला नदीको बाढीले धनुषा र सिरहातर्फको नदी आसपासको गाउँमा उत्पात मचाउँदै आएको थियो”, प्रमुख यादवले भन्नुभयो, “तर अहिले बाँध बनाएर नदीलाई नियन्त्रण गरी बस्तीलाई सुरक्षित बनाउन सफल भएका छौँ ।” कमला नदीको दुवैतर्फ बनाइएको तटबन्धबाट त्यस क्षेत्रका जनतालाई ठूलो फाइदा भएको उहाँको कथन छ ।

About the author

janaawaaj