• २०८२ कार्तिक ५ गते मङ्गलवार
  • Preeti To Unicode


काठमाडौँ  — तनहुँको व्यास नगरपालिका–५ स्थित मादी नदीमाथिको पुलमा शनिबार राति बोलेरो गाडी दुर्घटना हुँदा तीन युवाको घटनास्थलमै मृत्यु भएको छ।

ग २ च ५७६० नम्बरको बोलेरो गाडी मादी पुलको रेलिङमा ठोक्किएर नदीको बगरमा खसेको थियो। दुर्घटनामा व्यास–५ पाटनका २० वर्षीय कुशल मगर, २२ वर्षीय प्रवीन मगर र २१ वर्षीय कुमार मगरको घटनास्थलमै ज्यान गएको हो। उनीहरू तीनै जना पाटनमा बसोबास गर्दै रेष्टुरेन्टमा काम गर्दै आएका थिए।

दुर्घटनामा गाडी चालक रोहित गुट्टा सामान्य घाइते भएका छन् र दमौलीमै उपचाररत छन्। अर्का घाइते धिरज रौनियारको अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ।

घटना स्थल र उनीहरूले चढेको स्थानबीचको दूरी झण्डै एक किलोमिटर मात्र रहेको जनाइएको छ। चालक रोहित गुट्टाका अनुसार विपरीत दिशाबाट तीव्र गतिमा एक बस ओभरटेक गर्दै आइरहेको देखेपछि डरले गाडी बायाँ मोड्दा बोलेरो पुलबाट खसेको थियो।

वि.सं. २०२८ सालमा निर्माण गरिएको मादी नदीमाथिको उक्त पुलको रेलिङ कमजोर रहँदै आएको स्थानीयवासीहरूले बताएका छन्। उनीहरूका अनुसार रेलिङको उच्चता पनि केवल एक बित्ता जतिको बीम मात्र रहेको छ। करिब १२ वर्षअघि पनि यही पुलबाट बस खस्दा ११ जनाको ज्यान गएको थियो।

सडक विस्तार आयोजनाका सूचना अधिकारीका अनुसार अधिकांश सडक दुर्घटनाको प्रमुख कारण चालकको असावधानी र अत्यधिक गति नै हुने गरेको जनाइएको छ।

घटनापछि प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरिएको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ १२ गते आइतवार