काठमाडौं । चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो दुई महिनामा आयात बढेसँगै व्यापार घाटामा पनि वृद्धि भएको छ । भन्सार विभागका अनुुसार भदौसम्म आयात १.०८ प्रतिशतले बढ्दा व्यापार घाटा १.७८ प्रतिशतले बढेको छ ।
निर्यात व्यापारमा भने ५.१२ प्रतिशतले गिरावट आएको छ । नेपालीहरुका मुख्य चाडपर्व नजिकिँदै गर्दा व्यवसायीले बढी सामान भित्र्याउँदा आयात बढेको हो । भदौसम्म मुलुकले वैदेशिक व्यापारमा २ खर्ब ३७ अर्ब रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो भदौसम्म व्यापार घाटा २ खर्ब ३३ अर्ब रुपैयाँ थियो । यस अवधिमा नेपालले २ खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँबराबरको आयात गर्दा निर्यात भने २५ अर्ब ९ करोडमा सीमित छ । अघिल्लो भदौसम्म २ खर्ब ५९ अर्ब ७४ करोडको आयात गर्दा २६ अर्ब ४४ करोडको वस्तु निकासी गरेको थियो ।
आयात वृद्धिको अहिलेको तथ्यांकलाई मात्र हेरेर वैदेशिक व्यापारमा सुधार देखिएको भन्न नसकिने सरोकारवाला बताउँछन् । चाडपर्वको सिजनमा कुल वार्षिक व्यापारको ४० प्रतिशत हाराहारीमा सामान बिक्री हुने भएकाले अहिलेको आयात वृद्धिले मात्र अर्थतन्त्रमा सुधार भन्न नसकिने उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठको भनाइ छ । उनका अनुसार अघिल्लो वर्षको तुलनामा थोरै आयात बढे पनि दुई वर्षअघिको अवस्थामा अर्थतन्त्र फर्कन सकेको छैन ।
भन्सार विभागका अनुसार कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ८.७२ प्रतिशत र ९१.२८ प्रतिशत छ । यस अवधिमा पेट्रोलियम पदार्थ, विद्युतीय सवारीसहित कपडा तथा जुत्तालगायत वस्तु अत्यधिक आयात भएका छन् । निकासी भएका प्रमुख वस्तुमा फलाम तथा फलामका उत्पादन, यार्न, ऊनी गलैंचालगायत रहेका छन् । यसैगरी अलैंची, तयारी पोशाक, जुट तथा जुटका सामान, ऊनी फेल्टका उत्पादन, जुस, पाम तेल, चिया, जडीबुटी, कुकुर बिरालोका आहारा, पिना, पश्मिना शल, प्लाइउड, अदुवा, तामा तथा तामाका उत्पादन, कपडा, चाऊचाऊ निर्यात भएका छन् ।
भदौसम्म १३ अर्ब ६४ करोडको डिजेल, ११ अर्ब ६ करोडको पेट्रोल, ९ अर्ब ४२ करोडको एलपी ग्यास तथा २ अर्ब ६७ करोडको हवाई इन्धन आयात भएको छ । कुल ३६ अर्ब ९५ करोड रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात भएको हो ।
भारतसँग झन्डै डेढ खर्ब घाटा
नेपालले भारतसँग मात्र दुई महिनामा १ खर्ब ४४ अर्ब व्यापार घाटा व्यहोरेको छ । भारतबाट १ खर्ब ६० अर्ब रूपैयाँको वस्तु आयात भएको छ भने करिब १६ अर्ब रूपैयाँको निर्यात भएको छ । चीनसँग ५१ अर्ब ८० करोड रुपैयाँ व्यापार घाटा रहेको छ । चीनतर्फ २९ करोड ७४ लाख रुपैयाँको निर्यात हुँदा आयात भने ५२ अर्ब १० करोड पुगेको छ ।
कुल १२३ देशसँग व्यापार भएकोमा २१ वटासँग मात्रै आयातको तुलनामा निर्यात बढी भएको तथ्यांक छ । निर्याततर्फ दोस्रो स्थानमा रहेको अमेरिकामा ३ अर्ब २२ करोडको निर्यात हुँदा ३ अर्ब २९ करोडको आयात भएको छ । अमेरिकासँगको व्यापार घाटा ६ करोड ६४ लाख रुपैयाँ छ ।