Breaking कृषि समाचार

मकैको बीउमा बागलुङ आत्मनिर्भरतातिर

Written by janaawaaj

बाहिरबाट बीउ ल्याएर मकै खेती गर्नुपर्ने यहाँका किसानको बाध्यता कम हुँदै गएको छ । किसान आफैँ प्रमाणित र उन्नत बीउ उत्पादनतिर लागेका छन् । कृषि ज्ञान केन्द्रले मकैको बिजवृद्धि कार्यक्रममार्फत किसानलाई सघाएको छ ।

केन्द्रका अनुसार तमानखोला, निसीखोला, ताराखोला गाउँपालिका, जैमिनी नगरपालिकालगायत गरी सात ठाउँमा बिजवृद्धि कार्यक्रम सञ्चालित छ । कूल एक हजार रोपनीमा कृषि सहकारी र समूहमार्फत मकैको बीउ उत्पादन भइरहेको हो ।

केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बिजवृद्धि कार्यक्रमबाट १५० मेट्रिक टन बीउ उत्पादन हुने बताउनुभयो । आफ्नै हिसाबले बीउ उत्पादन गरेर बेच्ने किसानको सङ्ख्या पनि उल्लेख्य रहेको उहाँको भनाइ छ ।

“यहाँ २० हजार हेक्टरमा मकै बाली लगाइन्छ, एक हेक्टरलाई २० किलो बीउ चाहिन्छ”, प्रमुख भट्टराईले भन्नुभयो, “वर्षमा चार सय मेट्रिक टन बीउको खाँचो पर्छ, आउँदो एक÷दुई वर्षभित्रमा बागलुङ मकैको बीउमा आत्मनिर्भर बन्छ ।”

यहाँ मुख्य गरी उन्नत जातको मनकामना १, २, ३, ४, ५ र अरुण–१, २ मकैको खेती हुन्छ । बरेङ गाउँपालिकाका किसानले भने देउती जातको मकै लगाउँछन् । मनकामना एक हजार ५०० मिटरको उचाइसम्म र गणेश त्यसभन्दा माथि उब्जाउ हुन्छ ।

केन्द्रले मकैको बीउ उत्पादन गर्ने किसानलाई ५० प्रतिशत अनुदानमा मूल बीउ उपलब्ध गराउने गरेको छ । किसानले यान्त्रिक हलो, त्रिपाल, बोरालगायत कृषि औजार र उपकरण पनि अनुदानमा पाउँछन् । आउँदा वर्षमा बिजवृद्धि कार्यक्रम थप विस्तार गर्ने योजनामा केन्द्र छ ।

अहिले सबैभन्दा बढी निसीखोलाको देवीस्थान कृषि सहकारीमार्फत ३०० रोपनीमा मनकामना–३ मकैको बीउ उत्पादन भइरहेको छ । ताराखोलामा १०० रोपनीमा गणेश–१ जातको मकैको बीउ उत्पादनका लागि बिजवृद्धि कार्यक्रम सञ्चालन गरिएको छ ।

तमानखोला गाउँपालिकामा मकै ‘ब्लक’ कार्यक्रमअन्तर्गत १०० रोपनीमा गणेश–१ जातको मकैको बीउ उत्पादन भइरहेको छ । जैमिनी–१० पाहीमा २५० रोपनीमा बिजवृद्धि कार्यक्रम सञ्चालन भइरहेको छ ।

काठेखोला गाउँपालिका–४ तङ्ग्रामको कल्पना मकै उत्पादन समूहले पनि सय रोपनीमा उन्नत जातको मनकामना–३ उत्पादन गरिरहेको समूहका अध्यक्ष रनबहादुर थापाले बताउनुभयो । उक्त समूहले उत्पादन गरेको मकैको बीउ गत वर्ष केन्द्रमार्फत स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा निर्यात गरिएको थियो ।

यो वर्ष पनि पोखरा, म्याग्दी, रुकुमलगायत ठाउँमा बीउ बेचिएको अध्यक्ष थापाको भनाइ छ । तङ्ग्रामका अगुवा किसान थापाले विगत १०÷१२ वर्षदेखि मकैको बीउ उत्पादन गर्दै आउनुभएको छ । “पहिले लुम्ले, काभ्रेलगायत ठाउँबाट बीउ ल्याउनुपथ्र्यो, अहिले यहाँको बीउ बाहिर गइरहेको छ”, उहाँले भन्नुभयो । केन्द्रले मकैको बीउलाई प्रतिकिलो रु १०० को दर तोकेको छ ।

बीउ परीक्षण प्रयोगशाला परीक्षण गरेर प्रमाणित भएपछि मात्र केन्द्रले बीउ बिक्रीका लागि सिफारिस गर्ने गरेको प्रमुख भट्टराईले बताउनुभयो । “सिफारिसका लागि बीउ शुद्ध र निरोगी हुनुपर्छ, कुनै जातको बीउ उत्पादन गर्नुछ भने त्यसको ३०० मिटर वरपर अर्को कुनै पनि जातको मकै लगाउन मिल्दैन”, उहाँले भन्नुभयो ।

प्रमुख भट्टराईले बीउ उत्पादनमा जोखिम पनि हुने भएकाले किसानलाई बीउको भण्डारण र सुरक्षाका लागि चाहिने पूर्वाधारमा राज्यले सहयोग गर्नुपर्ने बताउनुभयो । मकैको बीउ उत्पादन गरेर बेच्ने किसानलाई प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्ने उहाँको भनाइ छ । “बीउमा आत्मनिर्भर मात्र होइन निर्यात गर्ने स्थितिमा जिल्लालाई पु¥याउन सकिन्छ, तर त्यहीअनुसारको लगानी र पूर्वाधार पनि चाहिन्छ”, प्रमुख भट्टराईले

भन्नुभयो ।

उहाँले यसअघि लुम्ले, काभ्रे, सुर्खेत र बैतडीसम्म पुगी मकैको बीउ ल्याएर किसानलाई बाँड्ने गरेको सुनाउनुभयो । कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइका निमित्त प्रमुख सुजित पौडेलले बडिगाड गाउँपालिका–१ दगातुम्डाँडामा बीउ भण्डारण गृह निर्माण गरिएको बताउनुभयो । त्यहाँका किसान मकैको बीउ उत्पादनतर्फ आकर्षित भएपछि एकाइले आफ्नै लगानीमा बीउ भण्डारण गृह निर्माण गरेको हो ।

बागलुङसहित पर्वत र गुल्मीका दुई स्थानीय तहमा कार्य क्षेत्र रहेको एकाइले पर्वतको फलेवास नगरपालिका, महाशिला र बिहादी गाउँपालिका समेटेर ‘मकै जोन’ कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । सोही कार्यक्रमअन्तर्गत फलेवासको झकलक कृषि सहकारीले यो वर्ष १६ मेट्रिक टन बीउ उत्पादन गरेको निमित्त प्रमुख पौडेलले बताउनुभयो । “सहकारीले मनकामना–३ र अरुण–२ को मूल, प्रमाणित र उन्नत बीउ उत्पादन गर्छ, अहिले त्यहाँको बीउ बाहिरी जिल्लामा पनि निर्यात भइरहेको छ”, उहाँले भन्नुभयो ।

About the author

janaawaaj