काठमाडौँ – अछामको ढकारी गाउँपालिका–८ मा हराएका दुई किशोरीको शव जंगलमा भेटिएको छ। गाईबाख्रा चराउन गएका ईश्वरी खड्का र सरस्वती खड्का शुक्रबार बिहानदेखि हराइरहेका थिए। खोजीका क्रममा शनिबार बेलुकी वडा नम्बर १ को जंगल क्षेत्रमा उनीहरू मृत अवस्थामा फेला परेका हुन्।
गाउँले र आफन्तहरूले खोजी गरेपछि शनिबार बेलुकी उनीहरू भुइँमा लडिरहेको अवस्थामा भेटिएका थिए। साँझ ६ः४० बजे घटनाबारे प्रहरीलाई खबर प्राप्त भएको थियो। सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी टेकबहादुर देउवाले घटनाको पुष्टि गरेका छन्।
घटनास्थलमा थप अनुसन्धानका लागि डिएसपी ईश्वरी प्रसाद भण्डारीको नेतृत्वमा प्रहरी टोली पुगेको छ। घटनाको कारणबारे हालसम्म कुनै स्पष्ट विवरण प्राप्त नभए पनि अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
घटनाले मृतकका परिवार र गाउँमा गहिरो दुःख उत्पन्न गराएको छ। प्रहरीको अनुसन्धानपछि घटनाको थप विवरण सार्वजनिक गरिनेछ।