• २०८२ कार्तिक ३ गते आइतवार
  • Preeti To Unicode

खाना पकाउने ग्यास लिक भएर आगलागी, दाजु–बहिनीको मृत्यु


काठमाडौँ  – कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५, जयनगरमा खाना पकाउने ग्यास लिक भएर भएको आगलागीमा परेर एकै परिवारका दाजु–बहिनीको ज्यान गएको छ।

मृत्यु हुनेमा २४ वर्षीय शिवकुमार यादव र १८ वर्षीया सोनम यादव रहेका छन्। दुवै गम्भीर घाइते भएका कारण तत्कालै भैरहवा मेडिकल कलेज पुर्‍याइएको थियो। उपचारको क्रममा शिवकुमारको बाटोमै र सोनमको अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार खाना पकाउने ग्यास सिलिन्डरको नियामक (रेगुलेटर) जोड्ने क्रममा ग्यास लिक भएको आशंका गरिएको छ। लिक भएको ग्यास गोठमा बलिरहेको आगोबाट सल्किएर भान्सामा भीषण आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।

शिवकुमारको शरीरको ८५ प्रतिशत र सोनमको ७५ प्रतिशत भाग जलेको थियो भने उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन्।

आगलागीपछि स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। यस घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ १३ गते सोमवार