युद्धविराम सम्झौताको नजिक पुगे इजरायल र लेबनान


काठमाडौं । इजरायल र लेबनान युद्धविराम सम्झौताको नजिक पुगेका छन् । यसबारे छलफल गर्न आज इजरायली मन्त्रिपरिषद्को बैठक बस्दैछ। इजरायल र लेबनानमा रहेको इरान समर्थित शिया सशस्त्र समूह हिजबुल्लाहबीचको लडाइ अन्त्य गर्न ६० दिनको युद्धविराम प्रस्ताव गरिएको इजरायली र अमेरिकी अधिकारीहरूले बताएका छन्।

यसमा दक्षिणी लेबनानबाट इजरायली सेना फिर्ता गर्ने र यस क्षेत्रमा हिजबुल्लाहको उपस्थितिको अन्त्य गर्ने विषय समावेश छ। अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले भने, ‘हामी युद्धविरामको नजिक पुगेका छौँ भन्ने विश्वास छ।’

प्रकाशित मिति : २०८१ मङ्सिर ११ गते मङ्गलवार