23.1 C
Kathmandu
Friday, March 29, 2024
spot_img

म्याग्दीमा पालिका र वडाध्यक्षमा महिला प्रतिनिधित्व शून्य

म्याग्दीका ६ स्थानीय तह र ४५ वडाको नेतृत्वमा महिला सहभागिता शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा म्याग्दीमा एक पालिका प्रमुखसहित दुई वडाध्यक्षमा महिला चुनिनुभएको थियो । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा भने ६ स्थानीय तहको प्रमुख तथा अध्यक्ष र ४५ वडाध्यक्षमा पुरुष मात्र निर्वाचित भएका छन् ।

अघिल्लो निर्वाचनको तुलनामा उम्मेदवारमा महिलाको सङ्ख्या बढे पनि विजयी हुन नसकेकाले स्थानीय तह र वडाको नेतृत्वमा महिलाको अवस्था कमजोर बनेको हो । अघिल्लोपटक धवलागिरि गाउँपालिकाको अध्यक्षमा एमालेबाट थमसरा पुन निर्वाचित हुँदा मालिका गाउँपालिका–५ देवीस्थानको वडाध्यक्षमा कांग्रेसबाट पिपला बुढा र धवलागिरि गाउँपालिका–५ मल्कबाङको वडाध्यक्षमा कांग्रेसबाटै खर्ककुमारी छन्त्याल विजयी बन्नुभएको थियो । यसपटक पालिका प्रमुख–अध्यक्ष र वडाध्यक्षमा महिला प्रतिनिधित्व शून्य भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यसपटक म्याग्दीको स्थानीय तह निर्वाचनमा तीन महिला पालिका प्रमुखको प्रतिस्पर्धामा चुनावी मैदानमा उत्रिएका थिए । रघुगङ्गा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट मीना विश्वकर्मा, धवलागिरि गाउँपालिकाको अध्यक्षमा एमालेकी थमसरा पुन र बेनी नगरपालिकाको प्रमुखमा राप्रपाकी मीनाकुमारी शर्मा उम्मेदवार बन्नुभएको थियो ।

त्यसैगरी मङ्गला गाउँपालिका–४ मा एमालेबाट लक्ष्मी बुढाथोकी र माओवादी केन्द्रबाट मनमाया चोचाङ्गे तथा रघुगङ्गा गाउँपालिका–२ भगवतीको वडाध्यक्षमा रञ्जना श्रेष्ठ स्वतन्त्रबाट वडाध्यक्षको उम्मेदवार बन्नुभएको थियो । पालिका र वडाको नेतृत्वमा उम्मेदवार बन्नुभएका ६ महिला नै पराजित हुनुभएको छ । हरेक स्थानीय तहमा एउटै पार्टीबाट प्रमुख र उपप्रमुखमा उम्मेदवार बनाउँदा एक पदमा महिला अनिवार्य भए पनि धवलागिरि गाउँपालिकामा गठबन्धनका कारण अध्यक्ष र उपाध्यक्ष दुवै पुरुष निर्वाचित हुनुभएको छ ।

बेनी नगरमा कांग्रेस–माओवादी केन्द्रको गठबन्धन भए पछि उपप्रमुखमा माओवादी केन्द्रकी ज्योति लामिछाने विजयी हुनुभएको छ भने रघुगङ्गाको उपाध्यक्षमा कांग्रेसकी प्रेमकुमारी पुन, अन्नपूर्णको उपाध्यक्षमा एमालेकी दिवा तिलिजा, मङ्गलाको उपाध्यक्षमा एमालेकै प्रेमा अधिकारी क्षेत्री र मालिकाको उपाध्यक्षमा एमालेकै लक्ष्मीदेवी घर्ती पुन विजयी बन्नुभएको छ । वडातर्फ न्यून सङ्ख्यामा खुला सदस्यबाहेक महिला र दलित महिला कोटामा मात्रै सीमित हुन पुगेका छन् ।

दुई पालिका र १४ वडामा जनप्रतिनिधि दोहोरिए

म्याग्दीको दुई पालिका प्रमुख दोहोरिएका छन् । रघुगङ्गा गाउँपालिकामा निवर्तमान गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी र मङ्गला गाउँपालिकामा निवर्तमान गाउँपालिका अध्यक्ष सतप्रसाद रोका पुनः गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

वडामा १४ वडाध्यक्ष दोहोरिएर निर्वाचित हुनुभएको छ । अन्नपूर्णमा वडा नं १ मा दिलीपकुमार गर्वुजा, २ मा ओम फगामी, ८ मा खमबहादुर गर्वुजा पुनः दोहोरिएर वडाध्यक्षमा निर्वाचित हुँदा वडा नं ५ मा लामो समय कार्यवाहक वडाध्यक्ष रहनुभएका राजेश तिलिजा वडाध्यक्ष चुनिनु भएको छ ।

रघुगङ्गामा वडा नं १ बेगमा बिलप्रसाद फगामी, ५ मा मनबहादुर शेरमञ्जा, ६ मा मनकुमार शेरपुञ्जा र ८ मा गमान छन्त्याल वडाध्यक्षमा दोहोरिनुभएको छ । बेनी नगरपालिका–३ मा पदम पुन र ६ मा कृष्णसिंह बानियाँ वडाध्यक्षमा दोहोरिनुभएको छ । मङ्गला गाउँपालिका–२ मा धनबहादुर खाती र ५ मा भूपेन्द्र खत्री वडाध्यक्षमा दोहोरिनुभएको छ । मालिका गाउँपालिका–१ मा टङ्कप्रसाद पुन, धवलागिरि गाउँपालिका–१ मा झक छन्त्याल र ७ मा राजाराम उपाध्याय पनि दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles