काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा चैत १५ गते हुन लागेको प्रदर्शनबारे अनावश्यक त्रास फैलाइएको भन्दै अस्वीकार गरेका छन्। उनले सामान्य घटनालाई बढाइचढाई तिललाई पहाड बनाउने काम भइरहेको टिप्पणी गरेका छन्।
समाजवादी मोर्चामा आबद्ध दलहरूले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने तयारी गरेका छन् भने राजसंस्थाको पुनःस्थापनाका पक्षधर समूहले पृथक रूपमा प्रदर्शन गर्ने घोषणा गरेका छन्।
प्रधानमन्त्री ओलीले नेपालमा दैनिक १०–१५ हजार व्यक्तिको जुलुस निस्किनु सामान्य भएको बताउँदै चैत १५ गतेको प्रदर्शन पनि त्यस्तै हुने भएकाले अनावश्यक डर नमच्चाउन आग्रह गरेका छन्। उनले यस्ता सभा–जुलुसहरू नियमित हुने भएकाले त्यसमा भन्दा विकासका काममा ध्यान दिनुपर्ने बताएका छन्।
सरकारले प्रदर्शनलाई व्यवस्थित बनाउन आवश्यक सुरक्षा रणनीति अपनाइसकेको र कुनै अप्रिय घटना हुन नदिन सुरक्षाकर्मी परिचालन गरिने बताइएको छ।