• २०८१ मङ्सिर २१ गते शुक्रवार
  • Preeti To Unicode

 एमसीसीको २९७ किलोमिटर विद्युत् प्रसारणलाइन निर्माणका लागि बोलपत्र पुनःआह्वान 


काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)ले २९७ किलोमिटर विद्युत् प्रसारणलाइन निर्माणका लागि बोलपत्र पुनःआह्वान गरेको छ । यसअघिको बोलपत्रमा लागत बढी परेको भन्दै रद्ध गरेको एमसीसीको पुनः बोलपत्र आह्वान गरिएको हो ।

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत निर्माण गरिने उक्त प्रसारणलाइनले नेपालको विद्युत् प्रसारण सञ्जाललाई सशक्तीकरण गर्नेछ ।

लप्सीफेदी–रातमाटे–नयाँ हेटौँडा, रातमाटे–नयाँ दमौली र नयाँ दमौली–नयाँ बुटवल गरी तीनवटा खण्डमा विभाजन गरिएको उक्त प्रसारणलाइन निर्माणका लागि बोलपत्र प्रस्तुत गर्ने समयसीमा २०८१ साल माघ १७ गते तोकिएको छ ।

अघिल्लो बोलपत्र आह्वान प्रक्रियाको विस्तृत समीक्षापछि पुनःआह्वान गरिएको यस बोलपत्रमा परिमार्जित डिजाइन, टावर निर्माणस्थलमा सहज पहुँच र बोलपत्रदाताहरूको सुझावका आधारमा संशोधित व्यावसायिक प्रावधान समेटिएको छ । यी समायोजनले थप कार्यान्वयनयोग्य र लागत–प्रभावकारी प्रस्तावहरू प्राप्त हुने सुनिश्चित गर्दै अघिल्लो बोलपत्र आह्वानमा पहिचान गरिएका मुख्य लागत निर्धारकहरूलाई सम्बोधन गरेका छन् ।

तीनवटा ४०० केभी सबस्टेशन र १८ किमि प्रसारणलाइन निर्माण कार्यमा निर्माण कम्पनीहरू परिचालन गरिसकेको एमसीए–नेपाल नेपालको ऊर्जा पूर्वाधारलाई थप सशक्त बनाउनका लागि बाँकी प्रसारणलाइन खण्डको निर्माण पनि सम्पन्न गर्ने सही मार्ग रहेको स्पष्ट भएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १२ गते बुधवार