14.1 C
Kathmandu
Sunday, March 24, 2024
spot_img

बालश्रम रोकथाम चुनौतीपूर्ण

बालश्रम न्यूनीकरणका लागि यहाँ अनुगमन संयन्त्र प्रभावकारी हुन नसकेकामा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । जिल्लामा बालअधिकारका क्षेत्रमा दर्जनौँ सामाजिक संस्था अस्तित्वमा देखिए पनि ताजा तथ्याङ्कले बालश्रमिकको सङ्ख्या घटेको देखाउँदैन ।

जिल्ला महिला तथा बालबालिका बालकल्याण समितिको एक वर्षअघिको तथ्याङ्कमा यस जिल्लामा करिब चार हजार बालश्रमिक रहेकामा अहिले पनि त्यो सङ्ख्या नघट्नुमा सरोकारवाला निकाय जिम्मेवार हुन नसकेकोतर्पm सङ्केत गर्दछ ।

बालबालिकालाई बालश्रमबाट मुक्त गर्नका लागि उनीहरूका अभिभावकलाई रोजगारको अवस्था सिर्जना गर्ने कुनै कार्यक्रम नभएकाले पनि प्रगति नदेखिएको हो । बालश्रमिकका लागि शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको बाँके युनेस्को क्लब र सरकारले समेत न्यूनीकरणका लागि विभिन्न कार्यक्रम गरेको नेपालगञ्ज उपमहानगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाहको भनाइ छ ।

बढ्दो सहरीकरण, बसाइँसराइ, जनसङ्ख्या वृद्धि, अभिभावकलाई रोजगारको वैकल्पिक व्यवस्था नहुनु, सरकारी तथा गैरसरकारी निकायबीच योजना निर्माण तथा कार्यक्रम सञ्चालनमा समन्वय नहुनु र ग्रामीण क्षेत्रमा पर्याप्त विकासका पूर्वाधार निर्माण हुन नसक्दा पनि जिल्लामा बालश्रम मौलाउँदै गएको तथ्याङ्कले देखाउँछ ।

कानुनले १४ वर्षमुनिका बालबालिकालाई श्रममा प्रयोग गर्न नपाइने व्यवस्था गरे पनि नेपालगञ्जका विभिन्न ग्यारेज, होटल, रेष्टुराँ, यातायात, कलकारखाना र घरमा बालबालिकाको प्रयोग श्रमिक तथा कामदारका रूपमा बढ्दै गए पनि त्यसको रोकथाम प्रभावकारी हुन नसकेको बताइएको छ ।

जिल्ला महिला तथा बालबालिका ज्येष्ठ नागरिक समाज कल्याण समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री पनि बालश्रम नियन्त्रण चुनौतीपूर्ण रहेको बताउनुहुन्छ । उहाँले बालश्रम रोकथामका लागि बालबालिकाका क्षेत्रमा कार्यरत विभिन्न सामाजिक संस्थाको पनि उत्तिकै दायित्व रहेको भन्दै बालश्रम न्यूनीकरणका लागि सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गरी अनुगमन संयन्त्रलाई प्रभावकारी बनाउनुपर्ने बनाउनुभयो ।

“अनुगमनले मात्र बालश्रम नियन्त्रण नहुने भएकाले बालश्रमिक प्रयोग गर्नेहरूमाथि राज्यका निकायले कारबाहीपनि थाल्नुपर्छ”, इन्सेकका क्षेत्रीय संयोजक भोला महतले भन्नुभयो । जिल्ला महिला तथा बालबालिका ज्येष्ठ नागरिक समाज कल्याण समितिको तथ्याङ्कानुसार जिल्लामा हाल चार हजारभन्दा बढी बालश्रमिकमध्ये करिब एक हजार ५०० घरेलु कामदार, ४०० होटल रेष्टुराँमा, ४०० यातायात तथा ग्यारेजमा र अन्य सडक मजदुरका रूपमा कार्यरत छन् ।

केही समयदेखि भने बाँके युनेस्को क्लबले अर्थाभावका कारण बालश्रमिक हुन बाध्य बनाइएका बालबालिकाका परिवारलाई आर्थिक उपार्जन गरी बालबालिकालाई विद्यालय भर्ना गराउने अभियान सञ्चालन गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका र युनिसेफको सहयोगमा बालमैत्री स्थानीय सुशासन कार्यक्रमअन्तर्गत क्लबले अहिले जिल्लाका १५६ बालश्रमिकलाई बालश्रमबाट विस्थापन गरी विद्यालय पठाउन तिनका परिवारलाई व्यवसाय सञ्चालनका लागि आर्थिक सहयोग र छात्रवृत्ति उपलब्ध गराएको छ ।

एक सय ५६ बालश्रमिकमध्ये ६३ जनालाई व्यवसाय सञ्चालनका लागि प्रत्येक परिवारलाई रु आठ हजार र ९३ बालबालिकालाई एक वर्ष बराबरको रु आठ हजार बराबरको छात्रवृत्ति उपलब्ध गराइएको छ । यो कार्यक्रम सञ्चालनले थोरै सङ्ख्यामा भए पनि जिल्लामा बालश्रम न्यूनीकरणमा मद्दत पुग्ने विश्वास गरिएको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles