• २०८२ फाल्गुन २९ गते शुक्रवार
  • Preeti To Unicode

प्रदीप ज्ञवालीले अमेरिकी सहयोग रोक्ने निर्णयको नेपालमा प्रभावको चेतावनी


काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अमेरिकी सरकारद्वारा विदेशी सहयोग रोक्ने निर्णयको असर नेपालमा पर्ने बताएका छन्। उनका अनुसार, अमेरिकाले सबै विदेशी सहायता कार्यक्रमहरूलाई रोक्ने र नयाँ सहायता अस्थायी रूपमा स्थगित गर्ने निर्णयले नेपालका विभिन्न सामाजिक र आर्थिक क्षेत्रलाई प्रभावित गर्ने छ।

अमेरिकी विदेश विभागले ९० दिनका लागि सबै प्रकारका विदेशी सहायता कार्यक्रमहरू रोक्ने निर्देशन दिएको छ। यस निर्णयले विशेष गरी नेपालका मातृ शिशु सहयोग र आप्रवासी निकाला सम्बन्धी कार्यक्रमहरूमा गहिरो प्रभाव पर्ने ज्ञवालीको भनाइ छ।

ज्ञवालीले थपे, “अमेरिका र चीनको व्यापार युद्धको असर पनि नेपालमा पर्नेछ, जसका कारण नेपालको परराष्ट्र नीतिमा सन्तुलन राख्ने प्रयास भइरहेको छ।” उनका अनुसार, यस्तो परिस्थितिमा नेपालको आर्थिक र कूटनीतिक दृष्टिकोणमा विशेष सर्तकता अपनाउनुपर्ने आवश्यकता छ।

यसैबीच, उनले सहकारी प्रकरणमा मुछिएका सबै व्यक्तिलाई कानूनी दायरामा ल्याइने कुरा उल्लेख गरे। “सहकारी प्रकरणमा कुनै पनि व्यक्तिलाई छुट दिने छैन,” उनले भने।

वर्तमान सरकारको लक्ष्यको बारेमा कुरा गर्दै ज्ञवालीले भने, “सरकार देशमा भएको चरम निराशा चिर्न र राजनीतिक स्थायित्व कायम गर्नका लागि काम गरिरहेको छ।”

त्यसैगरी, संविधान संशोधनका बारेमा टिप्पणी गर्दै उनले भने, “बृहत्तर पार्टीहरूको संलग्नतामा संविधान संशोधन हुने छ र १० वर्षे संविधानको कार्यान्वयनका क्रममा आएका समस्याहरूको समीक्षा गर्दै अघि बढ्ने छौं।”

प्रकाशित मिति : २०८१ माघ १५ गते मङ्गलवार