काठमाडौं – संयुक्त जनआन्दोलन समितिले आज आयोजना गरिएको आन्दोलनका क्रममा सरकारले दमन गर्न सक्ने गम्भीर आशंका व्यक्त गर्दै मानवअधिकारवादी संघसंस्था, सञ्चारमाध्यम र नागरिक समाजलाई चनाखो रहन अपिल गरेको छ।
समितिले आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण हुने स्पष्ट पार्दै नागरिक सर्वोच्चता, प्रजातन्त्र र मानवअधिकारप्रति आफ्नो प्रतिवद्धता पुनः दोहोर्याएको छ। साथै, सरकारका पछिल्ला अभिव्यक्तिहरूप्रति चिन्ता व्यक्त गर्दै ती अभिव्यक्तिहरूलाई आन्दोलनमाथिको सम्भावित दमनको संकेतको रूपमा लिएको जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काठमाडौँ नियन्त्रणमा लिने’ अभिव्यक्ति दिएको र सरकारी प्रवक्ताबाट आन्दोलनमाथि प्रतिबन्ध लगाउने चेतावनी आएको विषयमा समितिले गम्भीर आपत्ति जनाएको छ।
समितिले २०८१ चैत १५ गतेको घटनालाई स्मरण गराउँदै त्यसबेला जस्तै यसपटक पनि शान्तिपूर्ण नागरिकमाथि दमन हुन सक्ने सम्भावनाप्रति सबै पक्षलाई सतर्क रहन आग्रह गरेको छ।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले शान्तिपूर्ण आन्दोलनलाई सरकारले दबाउने योजना बनाएको संकेत देखिएको बताए। उनले भने, “हामी शान्तिपूर्ण रूपमा सडकमा उत्रनेछौँ, तर सरकारबाट दमनको संकेत प्रष्ट देखिएको छ। त्यसैले सबैले निगरानी र प्रतिकारका लागि तयार रहन आवश्यक छ।”
समितिले मानवअधिकारवादी संस्था, सञ्चारकर्मी, नागरिक समाज र आम जनतालाई आन्दोलनको निष्पक्ष रिपोर्टिङ तथा निगरानी गर्न आग्रह गर्दै आन्दोलनमाथि सरकारका क्रियाकलापहरूमा चनाखो दृष्टि राख्न विशेष अपिल गरेको छ।