• २०८२ कार्तिक १२ गते मङ्गलवार
  • Preeti To Unicode

पूर्वराष्ट्रपति भण्डारी पार्टीविरुद्ध लाग्नु आश्चर्यजनक : अध्यक्ष ओली


काठमाडौं, भदौ १२ ।
                                    प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टी र नेतृत्वविरुद्ध लागेको देखेर आफू आश्चर्यमा परेको बताएका छन्।

भदौ ११ गते काठमाडौं जिल्लाबाट आसन्न दोस्रो विधान महाधिवेशनका लागि प्रतिनिधित्व गर्ने प्रतिनिधिहरूसँगको अनौपचारिक भेटमा अध्यक्ष ओलीले वामपन्थी आन्दोलनको पृष्ठभूमि, पार्टीभित्रका चुनौती र वर्तमान सरकारका कामबारे धारणा राखेका थिए।

तर, सो भेटमा उनले नगरेको भनाइलाई केही अनलाइन र सामाजिक सञ्जालमार्फत ‘विद्या भण्डारीबाहेक कसैले मलाई धक्का दिन सक्दैन’ भनेर भ्रामक समाचार फैलाइएको भन्दै प्रधानमन्त्रीको सचिवालयले आपत्ति जनाएको छ। सचिवालयले यस्तो प्रकारका समाचारहरू स्वार्थका कारण तोडमोड गरिएको दाबी गरेको छ।

अध्यक्ष ओलीले कार्यक्रममा नेपालमा वामपन्थी आन्दोलनको ऐतिहासिक र संघर्षपूर्ण यात्राबारे चर्चा गर्दै व्यक्तिगत स्वार्थका कारण आन्दोलनमा क्षति पुगेको उदाहरण प्रस्तुत गरेका थिए। साथै, उनले हाल पार्टीले लिएको नीति, केन्द्रीय कमिटीका पछिल्ला निर्णय र सरकारका विकास तथा सुशासनका प्रयासबारे पनि जानकारी दिएका थिए।

विद्या भण्डारीबारे ओलीले भने, “मैले उहाँलाई अरू नेताभन्दा बढी सम्मान गरेको हुँ। तर अहिले उहाँ पार्टी र नेतृत्वविरुद्ध लाग्नुभएको देख्दा म स्वयं आश्चर्यमा परेको छु।” उनका अनुसार भण्डारीले विधिवत सदस्यता नलिई मिडिया र नेताहरूसँग भेटेर सक्रिय राजनीतिमा आउन खोज्नु पार्टीको लक्ष्य र एकताको लागि हानिकारक हुनेछ।

ओलीले थपे, “यदि सदस्यता दिइयो भने उहाँकै सम्मानमा आँच पुग्छ। पार्टीमा आएर अध्यक्ष उठे पनि जित्ने अवस्था रहँदैन। नेतृत्व कुनै लालगेडी होइन, गम्भीर जिम्मेवारी हो।”

प्रधानमन्त्रीको सचिवालयले वास्तविकता नबुझी भ्रामक समाचार सम्प्रेषण नगर्न सबैलाई अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८२ भाद्र १२ गते बिहिवार