• २०८१ मङ्सिर २० गते बिहिवार
  • Preeti To Unicode

 हराउँदै तिहार आएपछी गाउँघरमा माटो र कमेरोले घर रंग्याउने चलन


काठमाडौं ।  नेपालका धेरैजसो गाउँघरमा दशैँ –तिहार आएपछी माटो र कमेरोले घर रंग्याउने चलन हराउँदै गएको छ । त्यस्तै एक दशक अघिसम्म मकवानपुरको गाउँगाउँमा माटो र कमेरोले घर रंग्याउने चलन थियो । तर, अहिले पक्की घर बन्दै गएको र कच्ची घरमा पनि बजारबाट ल्याइएका रंगको प्रयोग गर्न थालिएको छ ।

तिहार सुरु भएदेखिनै पहराभित्रको कमेरोले घर रंग्याउने भन्ने चिन्ता हुन्थ्यो । सबै भन्दा राम्रो रातोमाटो कुन ठाउँमा पाइन्छ भनेर खोजेर ल्याएर रंग्याउने गरिएको भएपनि अहिले भने त्यो चलन हराउँदै गएको मकवानपुरगढी ५ का बृद्धा उसाकला सापकोटा बताउँछिन् ।

‘कहाँ माटो, कहाँ कमेरो खोज्ने अनि लगाउने मान्छे नै छैनन् । घरको अनि हाम्रो उमेर बढ्दै गएपछि एक–अर्कालाई हेरेर बसेका छौँ ।’ घरअघि थुचुक्क बसेकी गौरी पुरानो घर नियान्दै उनी भन्छिन् ।

मकवानपुरको गाउँको आकार, स्वरुप अनि रंग फेरिएको यो कथा मकवानपुरको मात्रै होइन । हरेक जसो जिल्लाका अधिकांश गाउँमा पछिल्ला केही वर्षयता घरको मौलिक सुन्दरता संकटान्मुख छ ।

यसरी घरको रंगमा मात्रै होइन, बनोटमा समेत फरक आइरहेको छ । मकवानपुरका गाउँमै पनि माटो–गारोले बनेका मौलिक घरको सट्टा अब पक्की घर बनाउन थालिएको छ । जसमा सिमेन्टको प्रयोग हुने भएकाले पनि माटो–कमेरोले लिपपोत गर्ने चलन कम हुँदै गएको हो ।

प्रकाशित मिति : २०८१ कार्तिक १२ गते सोमवार