कृषि राष्ट्रिय समाचार

सधैँ मल र बीउकै अभाव आखिर किन ?

Written by janaawaaj

उहाँ हुनुहुन्छ, रैजमुन खातुन । घर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाँ । उहाँले दुई लाख ५० हजार लगानी गरेर चार बिघा खेतमा धानखेती गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “साहुबाट ऋण सापटी लिएर लगानी त गरेँ तर समयमा सिँचाइ र मल नहुँदा सोचेजस्तो धान उत्पादन हुने सम्भावना देखिँदैन ।”

खेत पनि आफ्नै होइन, प्रायजसो खेत भाडाको हुन्छ जसको कुत तिर्नुपर्छ साहुलाई । “ गिरहत ( भाडा) को कर र वर्ष दिनको खाद्यानको जोहो गर्न पनि धौधौ छ”, रैजमुन भन्नुहुन्छ, “धानखेतीका लागि लिएको ऋण चुक्ता गर्न पाएको छैन, गहुँखेती कसरी गर्ने भन्ने तनावले पिरोलिन थालेको छ ।” पछिल्लो समयमा मल र बीउ नपाएर गहुँखेती राम्ररी गर्न नपाएका यहाँका कृषक यस वर्ष पनि उस्तै पीडामा छन् । आउने मौसममा अवस्था सध्रिएला भन्ने आशमा रहेका किसानसँग प्रत्येक उही तनाव, उही चुनौती र उस्तै पीडा रहने गरेको अर्का किसान चन्द्रनारायण मण्डल बताउनुहुन्छ ।

“किसानको समस्या समाधानका नाममा राज्यसँग एक थान आश्वासन मात्रै हुन्छ कि आउने मौसममा मलको अभाव हँुदैन, समयमै बीउबिजनको व्यवस्था गरिन्छ, सिँचाइको प्रवद्र्धन मिलाइने छन् । तर, आखिर कहिले ?”, प्रश्न गर्दै मण्डल भन्नुहुन्छ, “ आश्वासनले मात्रै किसानको समस्या सामाधान हुने होइन ।”

यतिखेर धान भित्र्याउन व्यस्त रहेका सप्तरीका किसानलाई गहुँबालीका लागि बीउ तथा मलको कारण चिन्तित तुल्याएको छ । मलका निम्ति किसानलाई सडक आन्दोलनदेखि जिल्ला प्रशासन कार्यालय घेराउसम्म नै गर्नुपरेको थियो । तर पनि आवश्यक मलखाद पाउन सकिएको थिएन । यद्यपि प्रशासनदेखि जनप्रतिनिधिसम्मले अब आउने सिजनमा मल तथा बीउबिजनको अभाव नहुने प्रतिबद्धता भने जनाएका थिए ।

जहिले पनि किसानका लागि मलखाद तथा बीउबिजनको अभाव नै रहने गरेको अर्का किसान अताबुल मन्सुरीको गुनासो छ । मलको अभावमा पछिल्लो मौसम गहुँखेतीमा घाटा बेहोर्नुपरेको र त्यस्तै अवस्था धानका बेला पनि झेल्नुपरेको उहाँ बताउनुहुन्छ । “प्रतिकट्ठा डेढदेखि दुई मन (६० देखि ८० केजी) सरदर उब्जाउ हुने गहुँ मलको अभावमा कट्ठाको १० देखि १५ केजी उब्जियो, धानको पनि उस्तै अवस्था छ”, अताबुल भन्नुहुन्छ, “यस्तै अवस्था रहिरहे बचेका किसान पनि खेतीबाट विस्थापित हुन बेर लाग्दैन ।”

यस भेगका किसानले लगाउने मुख्य बाली धान र गहुँ हो । धान बाढी वर्षाले बर्बाद भएको तथा गहुँबाली लगाउन मलदेखि बीउबिजनसम्मको अभावले अन्न उपलब्धतामा कमी आउने हो भन्नेमा किसान चिन्तित छन् । निर्वाहमुखी खेती गर्ने यस भेगका किसानलाई वर्ष दिने के खाने र कसरी जीवन निर्वाह गर्ने चिन्ता र चुनौती दुवै थपिएको तिलाठीका अगुवा कृषक श्यामप्रसाद कामैत बताउनुहुन्छ ।

सप्तरीमा वार्षिक २३ हजार आठ सय ५७ मेट्रिकटन युरिया, १२ हजार सात सय ८४ मेट्रिकटन डिएपी र नौ हजार २४ मेट्रिकटन पोटास आवश्यक पर्ने तथ्याङ्कले देखाउँछ । तीमध्ये हाल चार सय नौ मेट्रिकटन डिएपी र दुई सय ८३ मेट्रिकटन युरिया हाल उपलब्ध रहेको छ । यसैबीच सप्तरीका किसानलाई समयमै आवश्यक मल र बीउबिजन उपलब्धताको वातावरण मिलाइ दिन आग्रह गर्दै यहाँका स्थानीय तहका प्रमुखले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत पठाएको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी गराउनुभयो ।

About the author

janaawaaj