17.1 C
Kathmandu
Thursday, March 28, 2024
spot_img

महोत्तरीमा वनमारा फाँडेर वृक्षरोपण

बहुमूल्य काठका बिरुवा हुर्कन नदिने वनमारा (जङ्गली वनस्पति) फाँडेर सागरनाथ वन विकास परियोजनाले नयाँ वृक्षरोपण थालेको छ । महोत्तरी, सर्लाही र रौतहटसम्म रहेको परियोजना क्षेत्रमध्ये अहिले महोत्तरीका वनमारा झाडीक्षेत्रमा नयाँ वृक्षरोपण थालिएको हो ।

महोत्तरीमा पूर्वपश्चिम राजमार्गमुनि (दक्षिणतर्फ) बर्दिबास र गौशाला नगरपालिका क्षेत्रको वन परियोजना अधिनस्त छ । वन क्षेत्रमा राम्रा काठका बिरुवा बढ्न र हुर्कन नदिने वनमारा झाडी बढ्दै गएपछि अहिले वनमारा फाँडेर नयाँ वृक्षरोपण गर्न थालिएको परियोजनाले जनाएको हो ।

पहिलो चरणमा गौशाला नगरपालिका–१ को रामनगर कुश्माढी रेञ्ज युनिटको १८ नम्बर वन क्षेत्रमा झाडी सफा गरेर नयाँ वृक्षरोपण सुरु भएको छ । यसैगरी गौशालाकै लक्ष्मीनियाँ वन क्षेत्रमा पनि झाडी फाँडेर वृक्षरोपण गर्न थालिएको छ । पहिलो चरणमा रामनगर कुश्माढी प्लटको १७ हेक्टर र लक्ष्मीनियाँको २९ हेक्टर वन क्षेत्रमा यो काम थालिएको परियोजनाको हात्तीलेट वन व्यवस्थापन शाखाका प्रमुख विद्यासागर कर्णले जानकारी दिनुभयो । अहिले यस क्षेत्रमा खयर र मसालाटसका बिरुवा रोपिदैछन् ।

वन क्षेत्रका बिरुवा झाडीले बढ्न नसकेपछि यो फाँडेर नयाँ बिरुवा रोप्नुपरेको परियोजनाका विज्ञको भनाइ छ । खयर र मसाला चाँडै १० वर्षमै काठ तयार हुने भएको हुँदा अहिले अन्य बिरुवा नरोपिएर यिनै रोपिएको कर्ण बताउनुहुन्छ । “अहिले पछिल्ला २० दिनयता दैनिक २०० स्थानीयवासी वृक्षरोपणमा तल्लिन छन्”, परियोजनाका रेञ्जर देवनारायण चौधरी भन्नुहुन्छ, “वृक्षरोपणमा खटिएका स्थानीयवासीलाई ज्यालाबापत दैनिक रु ६ सयसमेत उपलब्ध गराइएको हुँदा कामसँगै आर्थिक राहत पनि मिलेको छ ।”

वनमारा झाडी फाँडेर खनजोत गरेपछि चारैतिर काँडेतारले बेरेर वृक्षरोपण थालिएको हुँदा अहिले रोपिएका बिरुवा राम्ररी हुर्कने परियोजनाका कर्मचारी र स्थानीयवासीले आश सङ्गालेका छन् । वृक्षरोपण गरिएको प्लटमा प्लटैपिच्छे दैनिक रेखदेख र स्याहारका लागि वन हेरालु राखिएपछि अब चाँडै रोपिएका बिरुवा हुर्कने गौशाला–१ का चन्देश्वर महतोको विश्वास छ ।

परियोजनाले क्रमशः आफ्नो क्षेत्रका वनभित्र वनमारा र बिरुवा बढ्न नदिने अन्य झारपात फाँडेर नयाँ बिरुवा रोपण बढाउँदै लगिने जनाएको
छ । अब मसाला र खयर नै रोपिने रेञ्जर चौधरी बताउनुहुन्छ । “खयर र मसाला सम्भार पाए चाँडै हलक्क बढ्छन्, यी एक वर्षमै पाँच÷छ फिटका हुने र १० वर्षमा काठको प्रयोगका लागि वयस्क भइसक्छन्”, रेञ्जर चौधरी भन्नुहुन्छ, “त्यसैले यहाँको माटो पनि यी बिरुवा हुर्कन उपयुक्त भएको हुँदा मसाला र खयर नै रोपिन थालिएको हो ।”

वृक्षरोपणको नयाँ कार्यक्रमले वन अतिक्रमण निरुत्साहित हुने अपेक्षा गरिएको छ । तीन जिल्लामा गरी अहिले करिब १२ हजार हेक्टर परियोजना क्षेत्रमध्ये ६ हजार हेक्टरभन्दा बढी महोत्तरीमै पर्छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles