काठमाडौं – राजसंस्था पुनःस्थापनाका लागि संयुक्त आन्दोलन समितिका संयोजक नवराज सुवेदीको घरमा प्रहरीले सुरक्षा कडा बनाएको छ। सुवेदी बसोबास गर्ने काठमाडौं महानगरपालिका-७, कुमारीगालस्थित उनको निवासमा प्रहरीले निगरानी बढाएको छ।
भेटघाटमा रोक
प्रहरीले सुवेदीलाई कोहीसँग पनि भेटघाट गर्न नदिने निर्णय गरेको छ। विशेष अनुमति बिना कोही पनि उनलाई भेट्न पाउने छैनन्। सुरक्षाका कारण देखाउँदै प्रहरीले कडा निगरानी बढाएको हो।
पक्राउ नगर्ने कारण
शुक्रबार राति सुवेदीलाई पक्राउ गर्ने तयारी भए पनि उनको स्वास्थ्य अवस्थाका कारण तत्काल गिरफ्तार नगरिएको प्रहरीले जनाएको छ। तर, प्रहरी निगरानी भने निरन्तर जारी रहेको छ।
हिंसात्मक प्रदर्शन र क्षति
शुक्रबार तीनकुनेमा राजावादी प्रदर्शन उग्र बनेपछि झडपको स्थिति सिर्जना भएको थियो। प्रहरी र प्रदर्शनकारीबीच भएको भिडन्तमा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ। प्रदर्शनकारीहरूले निजी सम्पत्ति, सरकारी कार्यालय, सवारी साधन तथा सञ्चारगृहमा तोडफोड गरेका थिए।
आन्दोलनको नेतृत्व
राजसंस्थाको पुनःस्थापनाको माग राख्दै भइरहेको आन्दोलनको नेतृत्व नवराज सुवेदीले गरिरहेका छन् भने उक्त आन्दोलनमा कमाण्डरको भूमिकामा दुर्गा प्रसाईं रहेका छन्।
प्रहरी प्रशासनले हालको अवस्थालाई मध्यनजर गर्दै सुरक्षा सतर्कता बढाएको छ भने सम्भावित अप्रिय घटनालाई रोक्न थप रणनीति अपनाइरहेको छ।