काठमाडौं । चीनसँगको व्यापारिक नाका रसुवातर्फको केरुङ सडकमा सामानसहित १३ टनका सवारी साधन मात्रै आउजाउ गर्न पाउने भएका छन् । सीमा क्षेत्रका चिनियाँ अधिकारीहरूले सोमबार रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेललेलाई दिएको सूचना अनुसार क्षतिग्रस्त सडकको ट्रयाक खोल्ने काम मात्रै भएकाले ठूला कन्टेनर र हेभी व्यापारिक सामान बोक्ने सवारी साधन चलाउन तत्काललाई असम्भव हुने जनाएका हुन् ।
नाका बन्द भएको एक महिनापछि मंगलबारदेखि एकतर्फी रूपमा यातायात सञ्चालन गर्न लागिएको हो । नेपालतर्फको रसुवागढीबाट चीनको केरुङसम्म २४ किमि सडक गत असोज दोस्रो साताको बाढीले क्षति पुर्याएको थियो । चिनियाँ प्राविधिकहरूले हेभी इक्विमेन्ट प्रयोग गरी एक महिनासम्म लगातार प्रयास गर्दा पनि सडक सञ्चालन गर्न कठिन भएको छ ।
बाढीपहिरोका कारण तातोपानी र रसुवा नाका जोड्ने सडक क्षतिग्रस्त भएपछि उत्तरका दुई स्थलमार्गबाट हुँदै आएको चीनसँगको व्यापार ठप्प हुँदै आएको थियो । तातोपानी नाका तीन दिन पहिलेदेखि सञ्चालनमा आएको छ । रसुवातर्फको नेपाली भूभागको सडक कामचलाउ भए पनि चिनियाँ क्षेत्रमा भने तहसनहस भएको रसुवा भन्सारका अधिकारीहरू बताउँछन् ।
रसुवा भन्सार अधिकृत तथा सूचना अधिकारी रविन्द्र प्याकुरेलले अहिले सरकारले तोकेको लक्ष्य अनुसार मासिक २ अर्ब ५० करोड राजस्व संकलन गर्नुपर्छ । तर राजस्व संकलन महिना दिनदेखि ठप्प छ । चीनबाट मुख्यतया तयारी पोसाक, ज्याकेट, कस्मेटिक, स्टेसनरी सामान, जुत्ता, व्याग, कृषि तथा जलविद्युतका मेसिनहरू, इलेक्ट्रिक गाडी, फर्निचरलगायतका सामान आयात हुने गरेको छ ।
तिहारमा भने सजावटका सामान बढी मात्रामा आउने गरेको छ । नाका बन्द भएपछि रसुवाबाट आयात गर्न तयारी गरिएका बिजुलीका झिलीमिली सामान केरुङ गोदाममा थन्किएका छन् ।बाढीले क्षतिग्रस्त अरनिको राजमार्गको बाह्रबिसे–मितेरीपुल सडक खण्ड खुलेपछि तातोपानी नाका पूर्वअवस्थामा सञ्चालनमा आएको छ । उक्त नाकाको लार्चा, कोदारी र लिपिङमा बाढीले बढी क्षति गरेको थियो ।
लार्चास्थित भोटेकोशी र लिपिङ खोलामा अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको छ । कोदारी पहिरो पन्छाएर अस्थायी रूपमा गाडी आउजाउको व्यवस्था मिलाइएको हो ।तातोपानी भन्सार अधिकृत तथा सूचना अधिकारी सूर्य काफ्लेका अनुसार ठूला कन्टेनरबाट सामान आउन थालेको छ । उनका अनुसार अहिले दैनिक ३० देखि ३५ वटा नेपाली कन्टेनर भन्सारबाट छुट्ने गरेको छ । तिहारका लागि आयात गरिएका स्याउ, ओखर, फलफूललगायत खाद्य बस्तु धेरै भित्रिने गरेको छ ।
तयारी पोसाकलगायतका व्यापारिक सामान भने न्यून परिमाणमा मात्र भित्रिने गरेको काफ्लेले जानकारी दिए । दसैं, तिहार र छठ पर्वमा बिक्री गर्न आयात गरिएका व्यापारिक मालबस्तु चीनको सडक र गोदाममा थन्किएको महिना दिन बितेको छ । सडक सञ्चालन भए पनि अहिल्यै सबै सामान नेपाल भित्रिने सम्भावना नभएको व्यापारीहरूको भनाइ छ ।
स्याउ आयातकर्ता विष्णु श्रेष्ठले तातोपानी नाकाबाट आयात गर्न खोजिएको स्याउ बोकेका कन्टेनर अझै ल्याउन नसकिएको बताए । स्याउका कतिपय कन्टेनर चीनतर्फ फर्काएर कोल्डस्टोरमा राखिएको छ ।
केरुङ सडक अवरुद्ध हुँदा नेपाली व्यवसायीको करोडौं मूल्यका व्यापारिक मालवस्तु महिना दिनदेखि सीमा र चीनका विभिन्न सहरका गोदाममा थन्किएका छन् । यस अवधिमा नेपाली व्यवसायीको करोडौं मूल्यका फलफूल तथा मसलाजन्य खाद्य वस्तु भने कुहिएर नोक्सान भएको छ । केही फलफूल र तयारी पोसाकलगायतका व्यापारिक सामान अहिले पनि केरुङका गोदाममा रहेका छन् ।
‘एकतर्फी र निश्चित तौल भएको गाडी मात्र आउजाउ गर्न पाउने सूचना आएको छ,’ प्रजिअ पौडेलले भने । व्यवसायीले भने प्रतिकन्टेनर ६–७ टन सामान एकतर्फी आयात गर्न सक्ने व्यवस्थाले व्यापार सहज रूपमा गर्न नसकिने बताए ।