14.1 C
Kathmandu
Tuesday, November 28, 2023
spot_img

प्रयोगविहीन सार्वजनिक शौचालय

बझाङ, १३ भदौ (रासस) ः सिमखेतस्थित राजमार्ग मै ठिङ्ग उभिएको छ, एउटा सानो पक्की भवन । टाढैबाट मैलो र फोहर देखिने भवनमा लेखिएको ‘सार्वजनिक शौचालय’ ।

यी लेखिएका शब्द पनि मुश्किलले पढ्न सकिन्छ । शौचालय भवनको नजिक जाँदा वरिपरि फोहोरको डङ्गुर छ । अझभन्दा ध्रुमपान सेवनकर्ताको खुला डस्बिन नै ।

शौचालयको अगाडिपट्टि झुण्याइएको ऐना धमिलिएको छ । हेरिहाले पनि अनुहारै नदेखिने । ‘शौचालय फोहोर नगरौँ’ लेखिएका पोष्टर झुण्डिएको देख्न सकिन्छ ।

छ वर्षभन्दा अघि जयपृथ्वी नगरपालिकाले बनाएको सार्वजनिक शौचालय यस्तो अवस्था छ । नागरिक सैनिक सहयोग (सीआइएमआइसी) कार्यक्रमअन्तर्गत नेपाली सेना, शत्रुमर्दन गुल्म र जयपृथ्वी नगरपालिकाको संयुक्त लगानीमा २०७३ जेठ १० गते सो शौचालयको शुभारम्भ गरिएको थियो ।

सुरुआती समयमा शौचालय निर्माणले निकै श्रेय बटुलेको थियो । नगरपालिकाले शौचालयको आवश्यक व्यवस्थापनमा ध्यान नदिँदा शौचालय आफै फोहर बनेको हो । शौचालय भवन नजिकै पसल सञ्चालन गरेका एक पसले भन्नुहुन्छ, “नगरपालिकाले सुरुसुरुमा त शौचालयको रमझम नै गरेको थियो । अहिले भने वार्षिकरुपमा पनि खुल्छ कि खुल्दैन । थाहै हुँदैन । जहिल्यै बन्द देखिन्छ । शौच गर्न खोज्ने खाजा खाने बहाना गर्दै होटलको शौचालय प्रयोग गर्छन् ।”

सो नगरपालिकाले सिमखेतसहित अन्य दुई ठाउँमा शौचालय निर्माण गरेको छ । बाहुलीगाडको छेउमा नयाँ बन्न लागेको बसपार्कमा र चैनपुरको खुलामञ्चमा सार्वजनिक शौचालय निर्माण गरेको हो । चैनपुरस्थित खुलामञ्चमा रहेको शौचालय वरिपरि त शौच गरेर हिँड्नै नसकिने अवस्था छ । “शौचालय खोज्ने तथा घुम्न जाने पनि शौचालयको पछाडिपट्टि शौच गर्छन्”, खप्तडछान्नाका कुलप्रसाद जोशी भन्नुहुन्छ, “कहिलेकाहीँ साँझपख खुलामञ्चतिर घुम्न गइन्थ्यो । अहिले त त्यहाँ नजिक दुर्गन्धले जानै सकिन्न ।” उहाँले नगरपालिकाले कसैको जिम्मामा दिएर शौचालय प्रयोगको शुल्कसहित तोकेर सञ्चालन गर्न सकिने बताउनुभयो । “नगरपालिकाले चाह्यो भने कसैको जिम्मा दिएर पनि चलाउन सक्थ्यो तर, त्यतातिर ध्यान गएको देखिँदैन ।” उहाँले भन्नुभयो ।

नगरपालिकाले बनाएको शौचालय प्रयोगविहीन अवस्थामा छन् । सुरुमा उद्घाटन गर्दासम्म निकै प्रचार हुने तर त्यो प्रचार लामो समयसम्म टिक्दैन । जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजाल भने नगरले बनाएका सार्वजनिक शौचालयको बारे जानकार हुनुहुन्न । उहाँले भन्नुभयो, “शौचालय अहिले कुन ठाउँमा कस्तो अवस्थामा छन् भन्ने मलाई यकिन जानकारी छैन । यो विषयमा केही दिनपछि अध्ययन गरेर मात्रै भन्न सक्छु ।”

नगरपालिकाका सूचना अधिकारी लालबहादुर थापा नगरपालिकाले बनाएका सार्वजनिक शौचालय प्रयोगमा रहेको दाबी गर्नुहुन्छ । “नगरपालिकामा भएका सबै शौचालय अहिले पनि सुचारु अवस्थामै छन्”, उहाँ भन्नुहुन्छ, “अहिले भएका सञ्चालनमै छन् बाँकी शौचालय आवश्यकताअनुसार नगरपालिकाले थप्न सक्छ ।” उहाँले अहिलेसम्म सर्वसाधारणलाई सार्वजानिक शौचालयमा शौच गर्न कठिनाइ नभएको दाबी गर्नुभयो ।

बुङ्गल नगरपालिकाको कार्यालयभन्दा १० मिटर टाढा सार्वजनिक शौचालय छ । नगरपालिकाकै लगानीमा बनेको उक्त शौचालयको वरिपरि भने झार उम्रिएर ढोकासमेत नदेखिने अवस्थामा छ । सिस्नोको झाडीले छोपिएको शौचालय वर्षौं पुरानोजस्तो देखिन्छ ।

नगरपालिका कार्यालयको छेउमै खोला पारिपट्टि शौचालय बनाएपछि जग्गा विवाद हुँदा प्रयोगविहीन भएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख जयबहादुर धामीले अहिले नगरपालिकाले सार्वजनिक शौचालय नबनाएको र अब आवश्यकताअनुसार बनाउने जानकारी दिनुभयो । “अहिले हामीसँग सार्वजनिक शौचालय छैन । पहिले बनाएको शौचालय जग्गा विवाद हुँदा खासै प्रयोगमा आएन ।” उहाँले भन्नुभयो ।

शौचालय कहिलेकाहीँ त सर्वसाधारणले प्रयोग गर्ने गरेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ, “यो शौचालय पनि पूर्णरुपमा बन्द भएको त होइन । कहिलेकाहीँ जो कोहीले पनि प्रयोग गर्छन् । अब आवश्यकताअनुसार सार्वजनिक ठाउँमा सार्वजनिक शौचालय बनाउँछौँ ।” नगरपालिकाका मुख्य–मुख्य ठाउँमा आवश्यकता अनुसार सार्वजनिक शौचालय बनाउने सोच बनाएको नगरप्रमुख धामीले जानकारी दिनुभयो । “बुङ्गलमा नयाँ जनप्रतिनिधि आइसकेपछि जनताको आवश्यकताअनुसार शौचालयमात्रै नभई हरेक काम गर्नेछौँ । अहिले पनि त्यसैका लागि लबिङ गरिरहेका छौँ ।”

बुङ्गल र जयपृथ्वीमा मात्र नभई हरेक पालिकाका सहरमा कतै विद्यालयका शौचालय प्रयोग गर्ने त कतै खोलामा सर्वसाधारणले शौच गर्ने गरेका छन् ।

सरसफाइ गर्न राष्ट्रिय दिवस

बझाङमा मात्रै नभई मुलुकका अधिकांश सहरमा व्यवस्थित शौचालयको सुविधा छैन । बाहिर निस्कन पर्दा एकफेर घरको शौचालयमा शौच गरेर जाने धेरैको बानी छ । सार्वजनिक शौचालयको अभावमा कतिपयले खाजा खाने बाहानामा होटलका शौचालय प्रयोग गर्ने गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले सरसफाइ बढाउन तथा चेतना फैलाउन हरेक वर्ष शौचालय दिवस मनाउने गरेको छ । सन् २०३० सम्म दीर्घकालीन विकासको लक्ष्यमा पुग्न सङ्गठनले हरेक वर्ष नोभेम्बर १९ तारिखमा विश्व शौचालय दिवससमेत मनाउने गरिन्छ ।

संसारका हरेक बासिन्दालाई सरसफाइका स्रोत र सुविधा पु¥याउन दिवस मनाउँदै आएको हो । नेपाललाई ०७६ असोज १३ गते खुला दिसामुक्त देश घोषणा गरिसकिएको छ तर शौचालय प्रयोग भने प्रभावकारीरूपमा हुन नसकेको सरोकारवाला बताउँछन् । नेपालमा हेर्ने हो भने अहिले पनि विकसित सहरमा समेत शौचालय प्रयोगपछि पानी हाल्नुपर्ने सूचना टाँस गरेका भेटिन्छन् ।

सार्वजनिक शौचालयमा मात्रै नभई होटलका शौचालयमा पनि त्यस्तै सूचना टाँस गरेका भेटिन्छन् । अहिले पनि पानी हाल्नुहोला, सफा गर्नुहोला भन्नेजस्ता सन्देश लेखिनुले एउटा सभ्यता पातलिँदै गएको बुझिन्छ ।

सङ्गठनले अहिले पनि विश्वभर करिब अढाइ अर्ब मान्छेले शौचालय प्रयोग नगरेको तथ्याङ्क सार्वजनिक गरेको छ । सङ्गठनले गरेको सर्वेक्षणअनुसार विश्वभर करिब करिब १० जनामध्ये एक जनाले अझै पनि शौचालयमा शौच गर्ने विकल्प पाएको छैन । सङ्गठनका अनुसार विश्वमा दुई अर्ब ४० करोड मानिस शौचालयको पहुँच बाहिर छन् ।

सुरक्षित शौचालयको अभावमा हुने फोहोरका कारण झाडापखाला लागेर हरेक वर्ष विश्वमा लाखौँको ज्यानसमेत जाने गरेको ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,400SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles