काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–८, ठुलो खोला नजिक शनिबार राति गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार राति करिब ८ बजे प्र ३-०१-०२४ च ८३२२ नम्बरको टाटा योद्धा गाडी अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा गोरखा भीमसेन थापा गाउँपालिका–४ का ५० वर्षीय गोकुल पाण्डे गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि मनमोहन अस्पताल, स्वयम्भू लगिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ।
उक्त दुर्घटनामा गाडी चालक ४१ वर्षीय जमालुदिन मिया र ४३ वर्षीय रामजी भट्ट घाइते भएका छन्। उनीहरूको हाल मनमोहन अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाको कारण खुल्न सकेको छैन। तर, प्रहरीले दुर्घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।