22.1 C
Kathmandu
Sunday, April 14, 2024
spot_img

बजेटले निजी क्षेत्र उत्साहित

चितवन, १६ जेठ ९रासस०ः सरकारले आइतबार ल्याएको बजेटले निजी क्षेत्र उत्साहित भएको छ । ठूलो आकारको बजेट भएकाले कार्यान्वयन पक्ष भने चुनौतीपूर्ण रहेको बताइएको छ ।देशकै मध्यभागमा रहेको चितवनका उद्योगी व्यवसायी बजेट निजी क्षेत्रमैत्री भएको बताउँछन् । उद्योग वाणिज्य सङ्घका जिल्लाअध्यक्ष चुननारायण श्रेष्ठ बजेटमा उद्योगका धेरै कुरा समेटिएको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “आकार ठूलो हुँदा कार्यान्वयनमा समस्या हुन्छ कि भन्नेमा हामीहरुमा चिन्ता छ ।” बजेटले चितवनको भौतिक निर्माणका विषयलाई सम्बोधन गरेको भन्दै अध्यक्ष श्रेष्ठ छिमेकी सहरको केन्द्रका रुपमा यसलाई विकास गर्न खोज्नु सकारात्मक रहेको बताउनुहुन्छ । कोभिडबाट असर परेका क्षेत्रलाई राहतको प्याकेज ल्याएको चर्चा गर्दै उहाँ भन्नुहुन्छ , “समग्रमा बजेटले निजी क्षेत्रलाई उत्साहित बनाएको छ ।”

उद्योग सङ्घका पूर्वअध्यक्ष राजु पौडेल बजेट सकारात्मक गरेको बताउनुहुन्छ । शक्तिखोरमा लामो समयदेखि प्रक्रियामा रहेको औद्योगिक क्षेत्रलाई सार्वजनिक निजी साझेदारी बनाउने विषय निकै महत्वपूर्ण भएको उहाँको भनाइ छ । सरकारी प्रक्रियाका कारण ढिलो भएको र अब यसले गति लिने उल्लेख गर्दै पूर्वअध्यक्ष पौडेल भन्नुहुन्छ, “बजेटले समाजवाद उन्मुख हुने प्रयत्न गरेको छ ।” पचास बिघासम्मको जमिनलाई हदबन्दी नलाग्ने, निर्यातमा सहुलियत बढाउने, उद्योग र व्यापारमा व्याजदर फरक, किसान पेन्सन, कृषकलाई रु पाँच अर्बको लघुबित्तमार्फत ऋण जस्ता कार्यक्रम महत्वपूर्ण रहेको छ ।’’

पर्यटन व्यवसायीले पनि बजेटलाई सकारात्मक भनेका छन् । कोभिडका कारण थला परेको व्यवसाय उकास्न बजेट सहयोगी हुने उनीहरुको बुझाइ छ । क्षेत्रीय होटल सङ्घका जिल्लाअध्यक्ष दीपक भट्टराई समग्रमा बजेट स्वागत योग्य रहेको बताउनुहुन्छ । पर्यटन क्षेत्रमा नयाँ कुरा नआए पनि पुराना महत्वपूर्ण पक्षलाई समाबेस गरिएको भन्दै उहाँ भौतिक पूर्वाधारमार्फत सहजरुपमा सहरलाई जोड्नु पर्यटन क्षेत्रका लागि सकारात्मक भएको उल्लेख गर्नुहुन्छ । अध्यक्ष भटृराई भन्नुहुन्छ, “कार्यान्वयन पक्ष राम्रो भयो भने बजेट सकारात्मक छ ।”

पोल्ट्री क्षेत्रमा भने बजेटले सम्बोधन गर्न नसकेको सम्बद्ध व्यवसायीको गुनासो छ । नेपाल दाना उद्योग सङ्घ केन्द्रीय समितिका पूर्वध्यक्ष डा तिलचन्द्र भट्टराईले पोल्ट्री क्षेत्रलाई बजेटले सम्बोधन गर्न नसकेको बताउनुभएको हो । विगत तीन वर्षदेखि भटमासमा लाग्दै आएको नौ प्रतिशत र मकैमा पाँच प्रतिशत भन्सार शुल्क घट्नुपर्ने माग व्यवसायीको छ । शतप्रतिशत भटमास र ७० प्रतिशत मकै बाहिरबाटै आउँछ । पूर्व अध्यक्ष भट्टराई कोभिड र बर्डफ्लुका कारण थलिएकोे पोल्ट्री क्षेत्रलाई बजेटमा सम्बोधन गर्नुपर्नेमा त्यसो नहुँदा व्यवसायी विस्थापित हुनेसक्ने गुनासो गर्नुुहुन्छ ।

अन्य क्षेत्रलाई सम्बोधन गरिए पनि पोल्ट्री क्षेत्रलाई प्रत्यक्ष छुन नसकेको भन्दै उहाँ उद्योगलाई दिइने सुविधाबाट भने केही हदसम्म लाभ लिन सक्नेमा आशावादी हुनुहुन्छ । पचास बिघासम्मका जग्गालाई उद्योगमा हदबन्दी नलाग्ने निर्णयले उद्योगी लाभान्वित हुने देखिएको छ ।केरा व्यवसायी सङ्घका पूर्वजिल्ला अध्यक्ष यज्ञप्रसाद सुवेदी बजेटले कृषि क्षेत्रलाई समेटे पनि कार्यान्वयन पक्ष भने हेर्न बाँकी रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बजेटमा सम्बोधन भए पनि कार्यान्वयन नहुँदा समस्या हुने गरेको छ ।” बजेटमा कृषि क्षेत्रलाई समेटेका कारण यहाँका कृषक बजेटप्रति सकारात्मक छन् । यद्यपि कार्यान्वयन पक्ष कस्तो हुन्छ भन्नेबारेमा ढुक्क हुन नसकेको बताएका छन् ।

कृषि क्षेत्रमा काम गर्दै आउनुभएका उद्योग वाणिज्य सङ्घका पूर्व जिल्लाअध्यक्ष राजन गौतम बजेटले आफ्नै उत्पादन आफ्नै उपभोग भन्दै आत्मनिर्भरतातर्फ जान खोज्नु सकारात्मक छ भन्नुहुन्छ । बजेट ठूलो आकारमा आएकाले कार्यान्वयन पक्ष चुनौती पूर्ण रहेको उहाँको भनाइ छ । विलाशिताका वस्तुको मूल्य बढाएसँगै विकल्पसमेत सोच्नुपर्ने पूर्व अध्यक्ष गौतम बताउनुहुन्छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles