• २०८१ कार्तिक २३ गते शुक्रवार
  • Preeti To Unicode

अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा हालसम्मकै धेरै पर्यटकले गरे भ्रमण 


काठमाडौं । अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा हालसम्मकै धेरै पर्यटकले भ्रमण गरेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्मा अवस्थित उक्त हिमालमा दसैँतिहारको बिदाको समयलाई उपयोग गर्दै उल्लेख्य रूपमा आन्तरिक पर्यटक अन्नपूर्ण हिमाल आधार शिविरमा पुगेका हुन् । पदमार्गको पहिचान भएको १३ वर्षको अवधिमा यसपटक धेरै पर्यटक आएको पदमार्गका अभियन्ता तेज गुरुङले बताए।

दसैँपछि अहिलेसम्म करिब तीन हजारले अन्नपूर्ण आधार शिविरको भ्रमण गरेका छन् । यो सिजनमा आन्तरिक सँगसँगै विदेशी पर्यटकसमेत उल्लेख्य मात्रामा आधार शिविरमा पुगेको गुरुङले जानकारी दिए । बुधबारदेखि शिविरमा आन्तरिक र विदेशी गरी करिब तीन सय पर्यटक रहेको बताए। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको नर्थ आधार शिविरबाट यो हिमाल आरोहण गर्ने गरिएको छ ।

सन् १९५० जुन ३ तारिकका दिन अन्नपूर्ण प्रथममा पहिलो मानवपाईला परेको थियो । फ्रान्सेली आरोही मौरिस हर्जोग र लुइस लचेनलले अन्नपूर्ण प्रथम हिमालमा पहिलोपटक आरोहण गरेर इतिहास रचेका थिए । उक्त आरोहण दलको नेतृत्व गरेका मौरिस हर्जोगको सम्मानमा नारच्याङदेखि अन्नपूर्ण प्रथमको नर्थ आधार शिविर पुग्ने पदमार्गलाई ‘मौरिस हर्जोग’ नामकरण गरिएको छ ।

मनमोहक पञ्चकुण्ड ताल, झरना र जैविक विविधता युक्त भूगोल अन्नपूर्ण पदमार्गका मुख्य आकर्षण हुन् । हर्जोगले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै विस २०६८ मा यस पदमार्गको पहिचान गरिएको थियो । तत्पश्चात् पदमार्ग, आश्रयस्थललगायत पूर्वाधार बनेर प्रचारप्रसार हुन थालेपछि ठूलो सङ्ख्यामा पर्यटकको आगमन भइरहेको छ ।

गाउँपालिकाले गतवर्ष अन्नपूर्ण आधार शिविर क्षेत्रको पर्यटन विकासका लागि एकीकृत गुरुयोजना तयार गरिसकेको छ । गुरुयोजनाअनुसार आधार शिविर र भुसकेट मेलामा लज बनाउन चालु आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरिएको र त्यसको लागि जग्गा व्यवस्थापनको पहल थालिएको छ ।

यस पदमार्गअन्तर्गत पोखरेबगरदेखि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटोमा सडकको पहुँच पुगेको छ भने हुमखोलादेखि १६ किलोमिटर दूरीमा पदमार्ग बनाइएको छ । सडकको पहुँच पुगेको हुमखोलासम्म होटल सुविधा रहे पनि त्यहाँदेखि आधार शिविरसम्म होटल, लजको सुविधा नभएकाले पर्यटक आफैँले खाना बस्नको लागि बन्दोबस्त मिलाएर जानुपर्ने बाध्यता छ ।

आधार शिविरमा आरोही टेन्ट टाँगेर बस्छन् भने शिविरमै रहेको आश्रयस्थलले आन्तरिक पर्यटकका लागि बास बस्न सहज बनाइदिएको छ । पदमार्गअन्तर्गत छोटेपा, हुमखोला, संधिखर्क, गुफाफाँट, भुसकेटमेला, धरमढु्ङ्गा र आधार शिविरमासमेत आश्रयस्थल निर्माण भएको छ । ठाउँठाउँमा खोला वारपार गर्न झोलुङ्गे पुलनिर्माण भएका छन् । आधार शिविर र पदमार्गको व्यवस्थित पूर्वाधार निर्माण गर्न गाउँपालिकाले एकीकृत गुरुयोजना निर्माण गरेर अघि बढेको छ । गाउँपालिकाले अन्नपूर्ण प्रथम हिमालको पर्यटन प्रवर्द्धन गर्न अभियान नै सञ्चालन गरिरहेको जनाएको छ ।

हिमाल आरोहणमा सबैभन्दा कठिन मानिने अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्न सहज भएपछि यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो । पर्यटकको आगमनलाई थप वृद्धि गर्दै पर्यटन विकासका लागि पालिकाले पदमार्गलाई थप स्तरोन्नति गर्ने, सञ्चार, खानेपानीलगायत सुविधाको पहुँच विस्तार गर्ने योजना अघि सारेको गाउँपालिका उपाध्यक्ष क्षदिवाकुमारी तिलिजापुनले बताए ।

प्रकाशित मिति : २०८१ कार्तिक १५ गते बिहिवार