22.1 C
Kathmandu
Friday, June 2, 2023
spot_img

सहिदमार्गको नियति उस्तै

बागलुङ, १५ साउन (रासस): यसपालिको वर्षात्मा पनि सहिदमार्गको नियति फेरिन सकेन । ठाउँपिच्छे गएका पहिराले ताराखोला गाउँपालिकाको केन्द्र जोड्ने उक्त सडक हप्तौँदेखि बन्द छ । यात्रुहरू फेरो बाटो समातेर आउजाउ गर्न बाध्य छन् ।

मार्ग खुलेको वर्षौँ बित्दासमेत सडक कालोपत्र हुनसकेको छैन । सालिन्दा वर्षात्का बेला सहिदमार्ग बन्द हुन्छ । ताराखोला गाउँपालिका–१ का यातायात व्यवसायी भीम गुरुङले हिउँदमा जेनचेत सवारीसाधन चलेपनि वर्षात्मा सहिदमार्ग बन्द हुने गरेको बताउनुभयो ।

“सहिदमार्ग बेवास्तामा परिरहेको छ, गाउँपालिकाले पनि खासै ध्यान दिएको छैन”, उहाँले भन्नुभयो, “कालोपत्र गर्ने कुरा पनि सेलायो, सडक झन् बिगँ्रदै गएको छ ।” उक्त सडकले काठेखोला गाउँपालिका–५ रिजालचोकबाट अमरभूमि हुँदै गाउँपालिकाको केन्द्र अर्गल, भातखाने डाँडालाई जोड्छ ।

सहिदमार्ग बन्द भएपछि अहिले जलजलादेखि माझखर्क, भुस्कात भएर सवारी आउजाउ गरिरहेको यातायात व्यवसायी गुरुङले बताउनुभयो । ताराखोला–२ सिले, अर्गल, भातखाने डाँडालगायतका ठाउँ पुग्न पनि त्यही बाटो हिँड्नुपर्ने स्थिति छ ।

सो मार्गमा पर्ने थवारको घुम्ती, मनझाँक्रीको किल्ला, थारखेतसहित कैयन ठाउँमा ठूला–साना पहिरो गएका छन् । पहिरो पन्छाउने र मर्मतसुधार गरेर सडक सञ्चालन गर्नेतिर गाउँपालिका पनि उदासिन देखिएको छ । ताराखोला–१ का अध्यक्ष यमबहादुर श्रीसले त्रिशूलीचोकबाट ठूलाचौरसम्मको खण्डमा सडक धेरै बिग्रेको बताउनुभयो । “पहिले सोलिङ गरेको बाटो थियो, अहिले ट्र्याक्टरले खल्बलाएर काम नलाग्ने भएको छ”, उहाँले भन्नुभयो, “वर्षात्मा यो बाटोले सधैँ दुःख दिइरहन्छ, कालोपत्र नगरेसम्म समस्या हल हुने देखिन्न ।”

उहाँले तत्काललाई डोजर लगाएर सडक सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो । सहिदमार्गको स्तरोन्नतिका लागि चालु आवको बजेटमा पनि गाउँपालिकाले रु २० लाख छुट्याएको छ । बजेटको अख्तियारी आएपछि आउँदो भदौबाट सडक स्तरोन्नति थालिने गाउँपालिकाले जनाएको छ । स्थानीय तहलाई पक्की सडकमार्फत प्रदेश राजधानीसँग जोड्ने सरकारको लक्ष्यअनुरुप उक्त सडक गत वर्ष नै कालोपत्रका लागि छनोटमा परेको थियो । स्थानीय पूर्वाधार आयोजना विकास कार्यालयको आयोजना छनोट समितिले गरेको सो निर्णय कार्यान्वयनमा भने आउन सकेको छैन ।

सरकारको प्राथमिकतामा नपरेका कारण कालोपत्र योजना ओझेलमा परेको गाउँपालिकाको गुनासो छ । आयोजना विकास कार्यालय, गण्डकीले सो योजना सुसुप्त अवस्थामा रहेको जनाएको छ । उसका अनुसार त्यस प्रकृतिका सडक योजनाको कार्यान्वयन सङ्घ कि प्रदेश सरकारले गर्ने भन्नेमा पनि अन्योलता छ ।

अघिल्लो सरकारले अघि बढाएका कतिपय सडकको बजेट नयाँ सरकार आएपछि कटौतीमा परेको थियो । बजेटको सुनिश्चितता भए सडक कालोपत्रको प्रक्रिया अघि बढ्ने आयोजना विकास कार्यालयका पदाधिकारी बताउँछन् । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश गैरेले सहिदमार्ग कालोपत्रका लागि प्रदेश र सङ्घ सरकारसँग पहल गरिने बताउनुभयो । उहाँसमेत सम्मिलित रहेको समितिले २० किमी दूरीको उक्त सडकलाई कालोपत्रका लागि छनोट गरी केन्द्रमा सिफारिस गरेको थियो ।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर छिट्टै सडक कालोपत्र गरिने खबरले उत्साहित स्थानीयवासी योजना नै अलपत्र पर्दा निराश बनेका छन् । जनयुद्धका बेला तत्कालीन माओवादी कार्यकर्ता र जनसमुदाय मिलेर उक्त सडकको मार्ग खोलेका थिए । पछि गाउँपालिकाले त्यसलाई ‘सहिदमार्ग’ नाउँ दिएको थियो ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गमा पर्ने काठेखोला गाउँपालिकाको रिजालचोकबाट उत्तर–पश्चिम हुँदै सो सडक ताराखोलाको केन्द्र, भातखाने डाँडामा जोडिन्छ । उक्त सडक कालोपत्रका लागि झण्डै रु ७० करोडको लागत अनुमान गरिएको छ । योजना कार्यान्वयनमा आए सङ्घ सरकारको ७०, प्रदेशको १० र गाउँपालिकाको २० प्रतिशत लागत साझेदारी रहने जनाइएको छ । पक्की सडकसँग जोडिएमा यात्रुको आउजाउ सहज हुनुका साथै ताराखोलाको स्थानीय उत्पादनलाई बजारीकरण गर्न सघाउन पुग्ने देखिन्छ ।

कृषि, पशु र वनजन्य उपजका दृष्टिले ताराखोला धनी छ । स्तरहीन सडकका कारण अहिले ताराखोलाबाट सदरमुकाम आउन घण्टौँको यात्रा तय गर्नुपर्छ । सडक कालोपत्र भएमा भने लोकमार्ग हुँदै प्रदेश राजधानी पोखराको यात्रा सहज र छरितो हुनेछ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,795FollowersFollow
20,800SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles