20.1 C
Kathmandu
Sunday, April 14, 2024
spot_img

डोटीको छहरा झरनामा पर्यटकको आर्कषण बढ्दै

माथिबाट झरिरहेको पानीको आकर्षक छहरा, वरिपरि हरियाली जङ्गल, त्यसमाथि चराचुरुङ्गीको चिरबिर आवाज, यस्तो सुन्दर दृश्यले कसको मन लोभिँदैन र ? यसरी मन लोभ्याउने प्रकृतिको सुन्दर उपहार, अनुपम र आकर्षक छहरा झरना जोरायल गाउँपालिका–२ छतिवनमा पर्दछ । पछिल्लो समय ती झरना पर्यटक आकर्षणको प्रमुख केन्द्रका रूपमा विकसित हुँदै गएको छ ।

हिजोआज यो झरना आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख रोजाइमा पर्न थालेको छ । जिल्लाभित्रका मात्रै नभएर अहिले यो झरनामा रमाउनका लागि सुदूरपश्चिम प्रदेशभरिकै नागरिक आउन थालेको स्थानीयवासी बताउँछन् । अहिले सो झरनामा रमाउन तथा अवलोकनका लागि आउने पर्यटकको सङ्ख्या दिनहुँ बढ्दै जान थालेको नेकपा (एकीकृत समाजवादी)का नेता तथा जोरायल गाउँपालिका–२ पात्तडाका स्थानीयवासी रोहित बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले कोरोना कहर पनि छैन, झरनामा रमाउन दिनहुँ सयौँ पर्यटक आउन थालेका छन्, पर्यटक आउन थालेपछि पूरै छहरा क्षेत्र रमणीय बन्दै गएको छ ।” छहरा झरना अवलोकन तथा भ्रमणका लागि अहिले कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटीलगायत क्षेत्रका स्थानीयवासी आउन थालेपछि भीड बढ्न थालेको छतिवन पर्यटन प्रवद्र्धन तथा संरक्षण विकास समितिका अध्यक्ष भरत कुँवरले जानकारी दिनुभयो ।

छहरालगायतका क्षेत्रमा केही समय पहिले छतिवन पर्यटन प्रवद्र्धन तथा संरक्षण विकास समितिले प्याराग्लाइडिङ, छहरा झरनामा पर्यटकका लागि क्यानोइङको व्यवस्था पनि गरेको थियो । छहरा क्षेत्रमा पर्यटक आकर्षित गराउनका लागि निर्वतमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्यटन बोर्डबाट विभिन्न बजेट विनियोजना गराउनु भई काम अगाडि बढाइएपछि अहिले यहाँ रमाउनकै लागि दैनिक सयौँ नागरिक आउने गरेको अर्का स्थानीयवासी सिद्ध जेठाराले बताउनुभयो । उहाँले भन्नुभयो, “छहराको विकास तथा विस्तारका लागि करोडौँ रकम विनियोजन भएको छ, काम पनि सुरु भएको छ, पर्यटक पनि दैनिक सयौँको सङ्ख्यामा आउन थालेका छन् ।”

झरनामा रमाइलो गर्न आउने पर्यटक तथा यहाँका स्थानीयवासीले झरना, मन्दिर सडक, झरना तलाउमा पौडी खेल्नेलगायतको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गर्दै यसको प्रचार–प्रसारमा समेत जुटेका छन् । विगतमा खासै नाम नसुनेको यो झरनाको नाम अहिले विकास र विस्तार भएपछि र प्रायःगरी यहाँ बनेका संरचनाका बारेमा सामाजिक सञ्जालमा पोष्ट गरेकै कारण सबैको मुखमुखमा छहरा झरना झुन्डिदै गएको जोरायल गाउँपालिका–२ बुडरका पूर्व वडासदस्य तथा स्थानीयवासी शङ्कर रावलले बताउनुभयो ।

नाम मात्रै सुनेका र झरनाको तस्वीरमात्रै देखेका नागरिक पनि अहिले यो झरनासम्म पुग्ने गरेका स्थानीयवासी बताउँछन् । झरना अवलोकन तथा झरनामा रमाउनकै लागि यहाँ दैनिक सयौँ पर्यटक आउन थालेपछि अहिले यहाँको व्यापार व्यवसायमा थप वृद्धि भएको बुडरस्थित गुल्मेली होटलका सञ्चालक मनोज लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षा सुरु भएकाले अहिले झरनामा पानी बढेको छ, उक्त झरना अवलोकन तथा भ्रमणका लागि पर्यटक आउन थालेपछि यहाँको व्यापार व्यवसाय पनि फष्टाएको छ ।”

जिल्ला सदरमुकाम सिलगढीबाट तीन घण्टा तथा कैलालीको अत्तरियाबाट दुई घण्टाको गाडी यात्रामा पुगिने यो झरनामा प्रायः कैलाली र कञ्चनपुरका नागरिक बढी आउने गरेको छतिवन पर्यटन प्रवद्र्धन तथा संरक्षण विकास समितिले जनाएको छ । कतिपय युवाहरू समूह नै बनाएर यो झरनाको अवलोकन गर्न पुग्ने गरेका छन् । आन्तरिक पर्यटक आउने तथा एक–दुई दिन यतै बस्ने गरेका कारण अहिले बुडर, गैरा, धारापानीलगायत क्षेत्रमा रहेका होटल व्यवसाय पनि राम्रै फस्टाउँदै गएको होटल व्यवसायीहरू बताउँछन् ।

जोरायल गाउँपालिकाले छहरा झरना क्षेत्रसम्म पुग्नका लागि कच्ची सडकको व्यवस्था गरेको छ । कच्ची सडकमा पानी जम्ने हुँदा छहरा पुग्न केही समस्या हुँदै आएको छ । यहाँका छहरा झरनालगायत अन्य पर्यटकीयस्थललाई व्यवस्थित गर्दै गाउँमा पर्यटक भित्र्याउनका लागि सडकसहित पूर्वाधार विकास निर्माणका कार्य गर्न थालिएको सो गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो ।

बुडरको छतिवनसहित डोटी जिल्लामा रहेका सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार–प्रसार तथा सडक विस्तार गरिए यहाँ आन्तरिक तथा बाह्य पर्यटक पनि भित्रिने सम्भावना उच्च रहेको छ । आन्तरिक तथा बाह्य पर्यटक बढेपछि आर्थिक अवस्थालगायतका क्षेत्रमा सुधार हुने ठूलो सम्भावना रहेको पर्यटक व्यवसायी दीपकबहादुर खड्काले बताउनुभयो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles