29.1 C
Kathmandu
Tuesday, May 30, 2023
spot_img

भिडियो सेवाले राससको भूमिका अझ बढेर जानेछ– चलचित्र निर्देशक शाह

नेपाली कलाकारिताका क्षेत्रमा चर्चित नाम हो नीर शाह । कलाकार, निर्माता, निर्देशक नीर शाहले विगत लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा योगदान गर्दै आउनुभएको छ ।

करिब छसय चलचित्र र ठूलो सङ्ख्यामा टेलिचलचित्रका लोकप्रिय कलाकारका रुपमा समेत अभिनय निर्वाह गर्नुभएका कलाकार शाह नेपाली कला क्षेत्रका उज्वल नक्षेत्र हुनुहुन्छ । उहाँले ‘प्रेमपिण्ड’, ‘वसन्ती’ लगायत ऐतिहासिक विषयमा दर्शन फिल्म निर्देशन गर्नुभएको छ ।

त्यसैगरी नेपालमा टेलिभिजन मिडियाको विकासमा पनि उहाँको योगदान उत्तिकै महत्वपूर्ण र नेतृत्वदायी रहेको छ । देशकै पहिलो टेलिभिजन नेपाल टेलिभिजनका संस्थापक महाप्रबन्धकसमेत रहनुभएका कलाकार शाहसँग राष्ट्रिय समाचार समिति (रासस) ले यसै साउनदेखि सुरु गरेको भिडियो सेवाका बारेमा राससबारे समाचारदाता सुशील दर्नालले गर्नुभएको कुराकानीको सारसङ्क्षेप यहाँ प्रस्तुत गरिएको छ ः

तपाईले राससलाई कसरी चिन्नुभएको छ ?

म नेपालमा आमसञ्चार माध्यमको कसरी विकास भयो भनेर खोज्ने मान्छे पनि हो । सामाजिक रुपान्तरणको इतिहासमै नेपालका आमसञ्चार माध्यमको कस्तो किसिमको योगदान रह्यो भन्ने विषयको एउटा विद्यार्थी नै भएँ । जसरी हरेक विद्यार्थीले नेपालका विभिन्न आमसञ्चारका माध्यमका बारेमा चासो राखेका होलान् त्यसरी नै मेरो पनि चासो हुनु स्वभाविकै हो । त्यही क्रममा राससका बारेमा थाहा नहुँदा थुप्रै कुरा थाहा नभएको ठर्हछ । त्यसै क्रममा मैले राससलाई चिनेको हँु ।

विसं २०१८ मा रासस स्थापना भएको हो । विसं २०४१ देखि नेपाल टेलिभिजनको स्थापनाको घटना परिघटनाको प्रारम्भ भए । त्यतिबेला अन्य सञ्चारका माध्यम सञ्चालनमा थिए, क्रियाशील थिए । रेडियो नेपाल, गोरखापत्र, राइजिङ नेपाल, राससले सरकारका मात्र नभएर जनताका आवाजलाई जनतामा लैजाने काम गरिरहेका थिए । तिनिहरुलाई समेत हाम्रो अभियानमा कसरी जोड्न सकिन्छ, आफ्नो अभियानलाई बलियो बनाउने क्रममा अझ अध्ययन गर्ने आवश्यकता महसुस भयो । थुप्रै कुरा राससका बारेमा जानकारी प्राप्त गर्ने अवसर मिल्यो । नेपाली आमसञ्चार क्षेत्रको विकासमा अतुलनीय योगदान गरेको संस्थाका रुपमा मैले राससलाई बुझ्ने गरेको छु ।

बदलिँदो परिवेशमा राससले कस्ताकस्ता विषयवस्तु सम्प्रेषण गर्नुपर्ला ?

सरकारको समाचार दिनका लागि मात्रै रासस स्थापित भएको हो भन्ने मानसिकतालाई समेट्न
सक्नुपर्छ । सरकार पनि जनतालाई प्रतिनिधित्व गर्ने एउटा निकाय हो । त्यसैले जहिले पनि प्रमुख केन्द्रबिन्दुमा रहनुपर्ने भनेको जनता नै हो । जनतासँग प्रत्यक्ष–परोक्ष सरोकार राख्ने विषयवस्तुका समाचार बढी सम्प्रेषित हुनुपर्छ । जब जनताले यो मेरो मिडिया हो भन्ठान्छ, त्यसपछि त्यो मिडियालाई कसैले धकेलेर अगाडि बढाउनै पर्दैन, त्यो आफँै अगाडि जान्छ । सरकारी ओहोदामा रहेका विशिष्ट व्यक्तिले कुनै समारोह भाग लिनुभयो भने मात्रै समाचार बनाउने परिपाटीलाई घटाउनुपर्छ । विशिष्ट व्यक्ति त्यो समारोहमा जाँदा जनतालाई के फाइदा भयो त भन्ने खालका समाचारलाई प्राथमिकता दिनुपर्छ । त्यसले मात्रै आजको समाजमा बढी अर्थ राख्छ होला ।

नेपालमा टेलिभिजन मिडिया भित्र्याउन यहाँको ठूलो योगदान छ । राससले पनि आफ्ना सेवा विविधीकरण गर्ने क्रममा भर्खरै भिडियो सेवा पनि सुरु गरेको छ, योबारेमा के भन्नुहुन्छ ?

राससले ढिलै भए पनि भिडियो सेवा सुरु गरेको छ, त्यसका लागि हार्दिक बधाई दिन चाहन्छु । पूर्ण सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु । जुनबेला टेलिभिजन सुरु भयो त्यतिबेला टेलिभिजनसँग नै दृश्य सामग्री बटुल्ने परिस्थिति उपलब्ध हुन सकेको थिएन । झन् राससलाई हुने भन्ने त कुनै भएन । तर पनि राससले आफ्ना भावी कदम त्यसतर्फ चाल्नुपर्छ भन्ने कुराको हामीले वकालत गर्दै आएको हो । मैले पहिला सुझावमा पनि भनेको थिएँ कि भिडियो नभए अडियो सुरु गरौँ पनि भनेको थिएँ । अहिले निजी क्षेत्रबाट पनि भिडियो दिने संस्था स्थापना भएका छन् । यो सन्दर्भमा राससले आफूले दिने विषयवस्तुमा परिमार्जन गर्नुपर्छ ।

अहिले निजी क्षेत्रबाट थुप्रै टेलिभिजन च्यानल आएका छन् भने अनलाइन र सोसियल मिडियाको सङ्ख्या पनि उत्तिकै बढेको छ । यस्तो अवस्थामा ती मिडियाका लागि उपयोगी हुने खालका सामग्री दिन सकेमा राससको भूमिका अझ बढेर जाने देखिन्छ भने मिडियाका लागि पनि सुविधा पुग्नेछ । अहिलेका अवस्थामा निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नसक्ने गरी राससले आफूलाई अगाडि बढाउनुपर्छ । राससको भौतिक विकास स्वभाविक विकासक्रम हो । नयाँ भावनाका साथ जनतामा जानुपर्छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,791FollowersFollow
20,800SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles