• २०८१ मङ्सिर १० गते सोमवार
  • Preeti To Unicode

बाढीपहिरोका कारण स्वदेशी फूलले तिहारको माग नधान्ने, पुष्प व्यवसायको वार्षिक वृद्धिदर १५ प्रतिशत


 काठमाडौं । नेपालमा बढ्दो सहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य सहरहरू लगायतका अन्य क्षेत्रमा पुष्प व्यवसाय फैलँदो अवस्थामा छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार हरेक वर्ष पुष्प व्यवसायको वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशतको हाराहारीमा हुन्छ ।

विगत केही वर्ष कोभिड महामारीका कारणले पुष्प व्यवसायमा नकारात्मक असर पुर्‍याएको भएता पनि आर्थिक वर्ष २०७९/८० देखि व्यवसायले पुनः गति लिएको फ्यानले जनाएको छ ।

गत वर्षसम्म ४८ जिल्लामा पुष्प खेती भइरहेकोमा यस वर्ष अर्घाखाँची, खोटाङ, उदयपुर र बर्दिया जिल्लामा पनि पुष्प व्यवसाय सुरु भएको हुँदा पुष्प व्यवसाय हुने जिल्ला सङ्ख्या ५२ पुगेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल अनुसार लगभग २६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ । ११७४ भन्दा बढी (नर्सरी–५३०, कट फ्लावर उत्पादक–९०, कट फ्लावर खुद्रा व्यवसायी–१५८, पुष्प थोक व्यवसायी–६, ईनपुट सप्लायर्स–२५ र लुज फ्लावर उत्पादक –३६५) पुष्प व्यवसायीहरू यसमा संलग्न छन् । पुष्प व्यवसायमा अनुमानित लगानी ८ अर्ब ८३ करोड रुपैयाँभन्दा रहेको छ । पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गरि अनुमानित ५१ हजार ५०० भन्दा बढी जनशक्तिलाई रोजगार प्रदान गरिएको छ ।

फ्यानको तथ्याङ्क अनुसार आव २०७५/७६ मा पुष्पको वार्षिक कारोबार २ अर्ब ४२ करोड रुपैयाँ रहेकोमा आव ०७७/७८ मा कोभिड महामारीको कारण पुष्पको व्यावसायिक कारोबारमा कमी आई जम्मा १ अर्ब ६३ करोड रुपैयाँमा खुम्चिएको थियो । आव २०७८/७९ मा कोभिडको असर केही कम हुँदा वार्षिक कारोबारमा केही वृद्धि भएको थियो । आव २०७९/८० मा ३ अर्ब ७ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो । २०८०/८१ मा १९.८६ प्रतिशतले वृद्धि भई ३ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको फ्यानले जनाएको छ । यस्तै, भन्सार विभागका अनुसार गत आर्थिक वर्ष ०८०/८१ मा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक निर्यात कारोबार १ करोड २ लाख १२ हजार छ भने २७ करोड ७९ लाख ५ हजार रुपैयाँको आयात भएको छ ।

नेपाल फूलमा आत्मनिर्भर उन्मुखको भएको दाबी गरिँदै आए पनि यो वर्षको तिहारमा फूलको अभाव हुने आकलन गरिएको छ । बाढी पहिरोका कारणले फूल खेतीमा १२ करोड रुपैयाँ बराबर क्षति भएकाले फूलको अभाव हुने अनुमान गरिएको हो ।

प्रकाशित मिति : २०८१ कार्तिक १५ गते बिहिवार