काठमाडौँ – महोत्तरीको मटिहानी नगरपालिका–८ मा बिहीबार स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
भारतको मधुवनी जिल्ला, माधवपुर ग्राम पञ्चायत वडा नं ६ निवासी २७ वर्षीय रवि कुमारलाई बीओपी मटिहानी अन्तर्गत सशस्त्र प्रहरी बल नेपालले नियन्त्रणमा लिएको हो।
चेकजाँचका क्रममा उनीसँग स्रोत नखुलेको पाँच लाख रुपैयाँ फेला परेको हो। उनी प्र २–०२–००५प ५१६३ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ जाँदै गरेका थिए।
पक्राउ परेका रवि कुमार, मोटरसाइकल र बरामद रकमलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
पछिल्लो समय नेपाल–भारत सीमामा अवैध रकम ओसारपसारका घटनामा वृद्धि भइरहेको छ। यसले गर्दा सीमा क्षेत्रमा निगरानीलाई थप कडा बनाइएको छ।