– प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको राजधानी बैंककमा जारी छैठौं बिम्स्टेक (BIMSTEC) शिखर सम्मेलनमा आज सम्बोधन गरेका छन्। सम्मेलन बैंककस्थित होटल साङ्ग्रिलामा भव्य रूपमा आयोजना गरिएको हो।
सम्मेलनको पहिलो कार्यसूचीमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’ सम्बन्धी महत्वपूर्ण दस्तावेजमा सदस्य राष्ट्रहरूले हस्ताक्षर गरेका छन्। बिम्स्टेक सदस्य राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूले आ–आफ्नो देशको तर्फबाट सम्बोधन गरेका थिए।
कार्यसूचीहरू पारित भएसँगै आयोजक देश थाइल्याण्डका प्रधानमन्त्रीले पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ।
यसै सन्दर्भमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज अपराह्न ४ बजे दुईपक्षीय भेटवार्ता तय गरिएको छ। उक्त भेटमा क्षेत्रीय हित र आपसी सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
यो भ्रमण प्रधानमन्त्री ओलीको थाइल्याण्डतर्फको पहिलो औपचारिक भ्रमण हो। भ्रमणको क्रममा प्रधानमन्त्री ओली आज साँझ नेपाली दूतावासद्वारा आयोजित स्वागत समारोहमा सहभागी हुने कार्यक्रमसमेत रहेको छ।
प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा प्रथम महिला श्रीमती राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल तथा सचिव अमृतबहादुर राईलगायत उच्चपदस्थ अधिकारीहरू सहभागी छन्।