• २०८३ बैशाख ४ गते शुक्रवार
  • Preeti To Unicode

भारतबाट पक्राउ परेका दुर्गा प्रसाईं काठमाडौं ल्याइँदै, संगठित अपराध लगायतका अभियोगमा अनुसन्धान हुने


काठमाडौं – संयुक्त जनआन्दोलन परिचालन समितिका प्रमुख कमाण्डर दुर्गा प्रसाईंलाई नेपाल प्रहरीको विशेष टोलीले भारतको आसाम राज्यबाट बिहीबार पक्राउ गरी नेपाल ल्याएको छ।

नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले भारत पुगेर प्रसाईंलाई नियन्त्रणमा लिएको हो। उनी काँकडभिट्टा नाकाबाट नेपाल भित्र्याइएका छन्। हाल उनलाई झापाबाट विमानमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रसाईं पक्राउका क्रममा काँकडभिट्टा नाकामा सुरक्षा व्यवस्था कडा बनाइएको थियो। उनलाई ल्याउने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त स्कर्टिङ गरिएको थियो।

दुर्गा प्रसाईं चैत १५ गते काठमाडौंको तीनकुनेमा संयुक्त जनआन्दोलन परिचालन समितिद्वारा आयोजित प्रदर्शनका प्रमुख कमाण्डर थिए। हिंसात्मक बनेको सो प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो भने निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको थियो। घटनाका क्रममा प्रसाईंले प्रहरी अधिकारीलाई गाडीले किच्दै भागेको आरोप छ। त्यसपछिका दिनहरूमा उनी फरार भएका थिए।

प्रहरी अनुसन्धान अनुसार फरार भएपछि उनी भक्तपुर र सिन्धुली हुँदै विर्तामोडस्थित बीएण्डसी मेडिकल कलेज पुगेका थिए। त्यसपछि उनी भारततिर भागेका थिए।

अब उनलाई काठमाडौं ल्याएर संगठित अपराध, राज्यविरुद्धको कसुर, आपराधिक उपद्रवलगायत अभियोगमा अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ। साथै, प्रहरी अधिकारीलाई गाडीले किच्न खोजेको घटनामा ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दा दर्ता गरिने संकेत गरिएको छ।

प्रकाशित मिति : २०८१ चैत्र २८ गते शुक्रवार