शिक्षा ऐनको मागमा माइतीघरमा शिक्षकहरूको प्रदर्शन, शैक्षिक हड्ताल जारी


काठमाडौं – शिक्षा ऐन जारी गर्नको लागि शिक्षक र विद्यालय कर्मचारीहरूले आज पनि काठमाडौंको माइतीघर–बानेश्वर क्षेत्रमा प्रदर्शन जारी राखेका छन्। लामो समयदेखि निरन्तर आन्दोलन गर्दै आएका शिक्षकहरूले आज बिहान ९ बजेदेखि १२ बजेसम्म प्रदर्शन गरेका छन्।

अघिल्ला दिनहरूमा दिउँसो प्रदर्शन गर्दै आएका शिक्षकहरूले आज राप्रपाको प्रदर्शनलाई मध्यनजर गर्दै बिहानै प्रदर्शन सुरु गरेका हुन्। राप्रपाले बिहान ११ बजेदेखि बिजुली बजार क्षेत्रमा भेला हुने जानकारी गराएपछि समय जुध्न नदिई शिक्षकहरूले आफ्नो प्रदर्शनको समय छोट्याएका हुन्।

शिक्षकहरूको आन्दोलन चैत २० गतेदेखि सुरु भएको हो। माइतीघर–बानेश्वर क्षेत्रमा निरन्तर प्रदर्शन गर्दै आएका उनीहरूले चैत २५ गतेदेखि शैक्षिक हड्ताल सुरु गरेका थिए। सरकारले वार्ता गरे पनि सहमति जुट्न नसकेपछि आन्दोलन अझ तीव्र बनाइएको छ।

शिक्षकहरूको आन्दोलनका कारण देशभरका शैक्षिक गतिविधि प्रभावित भएका छन्। विद्यालयहरू बन्द छन् भने पठनपाठन ठप्प भएको छ। साथै, माइतीघर–बानेश्वर सडकखण्डमा प्रदर्शनका कारण सवारी आवागमनमा समेत असर परेको छ।

शिक्षकहरूले तत्काल शिक्षा ऐन ल्याउनुपर्ने माग गर्दै आन्दोलन चर्काइरहेका छन् भने सरकारले वार्ताका माध्यमबाट समाधान खोज्ने प्रयास जारी राखेको जनाएको छ।

प्रकाशित मिति : २०८२ बैशाख ७ गते आइतवार