काठमाडौँ – चीनको राजधानी बेइजिङमा शनिबार एक अनौठो र रोचक म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ, जहाँ मानिस र अत्याधुनिक रोबोटबीच सीधा प्रतिस्पर्धा गरियो। प्रविधिको विकास र चीनको रोबोटिक्स क्षमतालाई प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले प्रविधि र मानव क्षमताको तुलना गर्ने मौका पनि दिएको छ।
२१ किलोमिटर दूरीको हाफ म्याराथनमा एक मानव धावकले १ घण्टा २ मिनेटमा लक्ष्य पूरा गरे, भने सबैभन्दा छिटो दौडिएको रोबोट ‘तियांगोंग अल्ट्रा’ ले भने २ घण्टा ४० मिनेट लिएको थियो। यसरी, मानव धावकले रोबोटलाई १ घण्टा ३८ मिनेटले पछि पार्दै जित हात पारे।
प्रतियोगितामा चीनका विभिन्न प्रतिष्ठित प्रविधि कम्पनीहरूले निर्माण गरेका २१ वटा रोबोट सहभागी थिए। तीमध्ये ‘ड्रायडअप’, ‘नोएटिक्स रोबोटिक्स’ र ‘तियांगोंग अल्ट्रा’ प्रमुख थिए। सबै रोबोटहरू स्वचालित तरिकाले दौडिन डिजाइन गरिएका थिए भने केहीमा मानव प्रशिक्षकहरू पनि साथमा थिए, जसले आवश्यक परेमा प्राविधिक सहयोग गरेका थिए।
दौडको क्रममा मानिसहरूले पानी पिउनुपर्ने आवश्यकता थियो भने रोबोटहरूलाई ब्याट्री परिवर्तन गर्ने अनुमति दिइएको थियो। केही रोबोटहरू विशेष पोशाकमा देखिएका थिए – एकले बक्सिङ ग्लभ लगाएको थियो, अर्काले ‘बाउण्ड टु विन’ लेखिएको रातो हेडब्यान्ड बाँधेको थियो, जसले प्रतियोगितालाई रमाइलो बनाएको थियो।
यस अनौठो म्याराथनले चीनको रोबोट प्रविधिमा भएको प्रगति र भविष्यमा मानव–मेशिन सहकार्यको सम्भावनालाई उजागर गरेको छ। साथै, यस्ता प्रतिस्पर्धाले प्रविधिमा चीनको अग्रता र विश्व बजारमा प्रतिस्पर्धात्मक स्थिति पनि झल्काएको छ।