कक्षा १२ को परीक्षा तोकिएको मितिमै हुने, रोकिँदैन : राष्ट्रिय परीक्षा बोर्ड


काठमाडौं – शिक्षक आन्दोलन र शिक्षामन्त्रीको राजीनामाले उत्पन्न अन्यौलता बीच पनि कक्षा १२ को परीक्षा तोकिएको मितिमै सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा निर्धारित तालिकाअनुसार यथावत् सञ्चालन गर्ने निर्णय गरेको छ।

बोर्डले वैशाख ९ गते बिहान बैठक बसेर परीक्षा नरोकिने स्पष्ट निर्णय लिएको हो। पछिल्लो समय शिक्षक तथा विद्यालय कर्मचारीहरू आन्दोलनरत रहेका छन् भने शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छिन्। यस्तो अवस्थामा परीक्षा प्रभावित हुन सक्ने अड्कलहरू गरिएका थिए। यद्यपि, बोर्डले कुनै भ्रम नरहोस् भन्दै परीक्षा निर्धारित मितिमै सञ्चालन हुने जानकारी दिएको हो।

बोर्डले सबै जिल्लाका परीक्षा समन्वय समितिमार्फत परीक्षा केन्द्र रहेका विद्यालयहरूलाई परीक्षा तयारीमा जुट्न निर्देशन दिइसकेको छ। साथै, सम्बन्धित सबै परीक्षा केन्द्रहरूलाई औपचारिक रूपमा जानकारी दिने तयारी भइरहेको बोर्डले जनाएको छ।

परीक्षा सञ्चालनमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले बोर्डले आवश्यक समन्वय र सुरक्षा व्यवस्थासमेत मिलाउने जनाएको छ।

प्रकाशित मिति : २०८२ बैशाख ९ गते मङ्गलवार