• २०८३ असार १९ गते शुक्रवार
  • Preeti To Unicode

भारत–पाकिस्तान तनाव : काठमाडौंमा दुवै देशका दूतावासअगाडि शान्तिपूर्ण प्रदर्शन


काठमाडौं – भारत र पाकिस्तानबीच चर्किँदो तनावको विरोधमा काठमाडौंमा शान्तिको पक्षमा प्रदर्शन गरिएको छ। मानव अधिकार तथा शान्ति समाजको आयोजनामा शुक्रबार भारत र पाकिस्तान दूतावासअगाडि प्रदर्शन गरिएको हो।

प्रदर्शनमा सहभागीहरूले दुबै देशलाई वार्तामार्फत समस्याको समाधान खोज्न आग्रह गरेका थिए। उनीहरूले युद्धले क्षेत्रीय शान्ति र स्थायित्वमा गम्भीर असर पार्ने भन्दै तत्काल तनाव अन्त्य गर्नुपर्नेमा जोड दिए।

शान्तिपूर्णरूपमा सम्पन्न प्रदर्शनमा विभिन्न प्लेकार्डहरू प्रदर्शित गरिएको थियो। ती प्लेकार्डहरूमा “शान्तिको कुनै विकल्प हुँदैन”, “स्टप वार”, “युद्धको कुनै भविष्य हुँदैन”, “पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई कारबाही गर” र “युद्धमा कसैले पनि जित्दैन, पराजित केवल मानवता हुन्छ” भन्ने नाराहरू लेखिएका थिए।

मानव अधिकार तथा शान्ति समाजले अन्तर्राष्ट्रिय समुदायलाई भारत–पाकिस्तानबीच संवाद प्रारम्भ गराउन पहल गर्न आग्रह गरेको छ। प्रदर्शनमा सहभागीहरूले कूटनीतिक र शान्तिपूर्ण माध्यमबाट समाधान खोज्नुपर्ने धारणा व्यक्त गरेका थिए।

संस्थाका अनुसार जनमत निर्माण गर्ने उद्देश्यले गरिएको यो प्रदर्शन पूर्णरूपमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार