काठमाडौं : शहीद स्मारक एन्फा महिला लिग–२०८२ मा बागमती युथ क्लबले आरएस रिसोर्ट पोखराको टोलीलाई हराएको छ। च्यासल मैदानमा भएको खेलमा बागमतीले आरएस रिसोर्टलाई ५–४ ले पराजित गरेको हो। बागमतीका अस्मिता मगर र दिक्षा रानपालले २–२ गोल गर्दा प्रजिता राईले १ गोल गरिन्।
आरएस रिसोर्टका कप्तान गीता श्रेष्ठले २ गोल गर्दा तुलसीकुमारी ओली र वर्षा कुँवरले १–१ गोल गरेका थिए। खेलको सातौं मिनेटमा गीता श्रेष्ठले गोल गर्दै अग्रता बनाएकी थिइन्, तर दुई मिनेटमै बागमतीले बराबरी गोल फर्कायो। पहिलो हाफ १–१ बराबरीमा सकिएको थियो।
दोस्रो हाफमा बागमतीले ४ गोल र आरएस रिसोर्टले ३ गोल गरेका थिए। ४९ औं मिनेटमा तुलसीकुमारी ओलीले दोस्रो गोल गरिन् भने ५२ औं मिनेटमा प्रजिता राईले बराबरी गोल फर्काइन्। ६० औं मिनेटमा दिक्षा रानपालले तेस्रो गोल गरिन्। ६८ औं मिनेटमा वर्षा कुँवरले आरएस रिसोर्टको तेस्रो गोल गरिन्। ७० औं मिनेटमा अस्मिता मगरले चौथो गोल थपिन् भने ७६ औं मिनेटमा दिक्षा रानपालले पाँचौं गोल गरिन्। ८३ औं मिनेटमा गीता श्रेष्ठले पेनाल्टीमार्फत आरएस रिसोर्टको चौथो गोल गरिन्।