• २०८३ बैशाख ८ गते मङ्गलवार
  • Preeti To Unicode

चैत ८ र ९ मा काठमाडौंमा लघुवित्त सदस्य सम्मेलन

चैत ८ र ९ मा काठमाडौंमा लघुवित्त सदस्य सम्मेलन

काठमाडौंमा आगामी आइतबार र सोमबार (चैत ८ र ९) पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन आयोजना हुने भएको छ। सम्मेलनमा लघुवित्त कार्यक्रमका उपलब्धि, समस्या र चुनौतीबारे छलफल गर्दै भावी रणनीति तय गरिनेछ। नेपालमा लघुवित्त कार्यक्रम सञ्चालन गर्ने प्रमुख संस्थाहरूको पहल र स्वावलम्बन विकास केन्द्रको संयोजनमा हुने यस सम्मेलनमा नियामक निकाय, नीति निर्माता, सरकारी प्रतिनिधि, लघुवित्त संस्थाका नेतृत्वकर्ता, सञ्चालक, कर्मचारी, सदस्य र सेवाग्राही गरी ५ सयभन्दा बढी सहभागी हुने आयोजकहरूले बताएका छन्।

सम्मेलन दुई दिनसम्म चल्नेछ र ‘उद्यमशीलता फैलाऔं, युवालाई स्वरोजगार बनाऔं’ भन्ने नारासहित सातवटा सत्रमा लघुवित्तका विविध आयाममा छलफल, अन्तरक्रिया र अनुभव आदानप्रदान हुने कार्यक्रम रहेको छ। यसअर्न्तगत सदस्यहरूको अनुभव, लघुवित्तको वर्तमान अवस्था, चुनौती र अवसर, क्रेडिट प्लस कार्यक्रम, सकारात्मक सोच र तनाव व्यवस्थापन, प्रविधिको प्रयोग, युवा स्वरोजगार र तीन शून्य क्लब, साथै विकृति र विसंगति नियन्त्रणका विषयमा चर्चा हुनेछ।

स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठका अनुसार, विश्वका १७७ देशमा लघुवित्त कार्यक्रम संचालन भए पनि सदस्यहरूलाई केन्द्रविन्दु बनाएर सम्मेलन गर्ने अभ्यास नेपालमै विशेष छ। यस केन्द्रले २०७३ सालदेखि प्रत्येक दुई वर्षमा राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन आयोजना गर्दै आएको छ। पहिलो सम्मेलन ‘उद्यमशीलताको विकास, गरिबी निवारणको निकास’ नारासहित २०७३ सालमा भएको थियो भने दोस्रो, तेस्रो र चौथो सम्मेलन क्रमशः ‘स्वच्छ लघुवित्त, हाम्रो अभियान’, ‘घरघरमा उद्यम फैलाऊँ, गरिबीलाई शून्य बनाऊँ’ र ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारासहित सम्पन्न भएका थिए।

लघुवित्त संस्थाहरूले गरिबी निवारण, महिला तथा विपन्न वर्गको आर्थिक–सामाजिक विकास, साक्षरता वृद्धि र दिगो विकासमा महत्वपूर्ण भूमिका खेलेका छन्। यसले महिलालाई स्वरोजगार बनाएको, बालबालिकालाई विद्यालय पठाउन प्रेरित गरेको र विदेशबाट फर्केका युवालाई स्वरोजगार अवसर प्रदान गरेको उदाहरणहरू रहेका छन्। तर, सरकारले लघुवित्त संस्थालाई कम्पनी मोडलमा रुपान्तरण गरी ‘घ’ वर्गको वित्तीय संस्था बनाएपछि नाफा कमाउने र लाभांश बाँड्ने प्रतिस्पर्धा बढेको, आवश्यकताभन्दा बढी ऋण दिनुले विकृति पनि बढाएको श्रेष्ठले बताए। उनले लघुवित्त कार्यक्रमलाई सदस्यमुखी बनाउँदै ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सुधार आवश्यक रहेको बताए।

प्रकाशित मिति : २०८२ चैत्र ६ गते शुक्रवार