• २०८२ चैत्र १३ गते शुक्रवार
  • Preeti To Unicode

कुवेतको तेलखानीमा इरानको आक्रमण

कुवेतको तेलखानीमा इरानको आक्रमण

काठमाडौँ — इरानले कुवेतको मिनाअल–अहमादी तेलखानीमा लगातार दोस्रो दिन ड्रोन आक्रमण गरेको छ। शुक्रबार बिहान भएको आक्रमणका कारण प्लान्टका धेरै युनिटहरूमा आगो लागेको कुवेतका अधिकारीहरूले बताएका छन्। दैनिक झन्डै ७३‍० हजार ब्यारेल तेल प्रशोधन गर्ने सो प्लान्टका केही युनिट बन्द हुनुपरेको भए पनि अहिलेसम्म मानवीय क्षति भएको छैन। यसअघि बिहीबार पनि त्यही तेलखानीमा इरानले आक्रमण गरेको थियो।

उता, इजरायलले पनि शुक्रबार तेहरानमा आक्रमण गरेको छ, जसले इरानी नयाँ वर्षलाई प्रभावित पारेको छ। इरानले पश्चिम एसियाका विभिन्‍न तेल तथा ग्यास खानीहरूमा आक्रमण सुरु गरेको छ भने इरानी विदेशमन्त्री अब्बास अराघचीले यस क्षेत्रमा आफ्नो क्षमता अनुसार अहिलेसम्म सीमित मात्र आक्रमण गरेको दाबी गरेका छन्। उनले ऊर्जा संरचनामा फेरि हमला भए “शून्य संयमता” अपनाउने चेतावनी दिएका छन्।

यसअघि बुधबार इजरायलले इरानको दक्षिण पार्स ग्यास फिल्डमा आक्रमण गरेको थियो र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उक्त आक्रमण इजरायल एक्लैले गरेको दाबी गरेका थिए। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहमा थप आक्रमण नगर्ने पनि बताएका छन्।

त्यसै क्रममा, विश्वकै ठूलो ग्यास निर्यात केन्द्र कतारको रास लाफान औद्योगिक क्षेत्रमा इरानले मिसाइल प्रहार गरेको छ। कतार एनर्जीका प्रमुख साद अल–काबीले ठूलो क्षति पुगेको बताएका छन् र यसको मर्मतका लागि तीनदेखि पाँच वर्ष लाग्ने बताएका छन्। उनले हालको विनाशले पश्चिम एसिया क्षेत्रलाई १०–२० वर्षसम्म पछाडि धकेल्नसक्ने चेतावनी दिएका छन्।

प्रकाशित मिति : २०८२ चैत्र ६ गते शुक्रवार