मुस्ताङ कोरलानाका भन्सार कार्यालयले चालु आर्थिक वर्षमा पौने ६ अर्ब राजस्व संकलन

मुस्ताङ कोरलानाका भन्सार कार्यालयले चालु आर्थिक वर्षमा पौने ६ अर्ब राजस्व संकलन

९ चैत, मुस्ताङ — नेपाल–चीन सीमा क्षेत्रमा अवस्थित मुस्ताङको कोरलानाका भन्सार कार्यालयले चालु आर्थिक वर्षमा पौने ६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ। कार्यालय पूर्ण रूपमा भदौ ३१ देखि सञ्चालनमा आएको थियो र चैत ७ सम्मको अवधिमा पाँच अर्ब ७१ करोड १० लाख रुपैयाँ राजस्व संकलन गरिएको कार्यालय प्रमुख रमेश खड्काले बताए।

उक्त अवधिमा नाकाबाट १२ अर्ब १७ करोड रुपैयाँ मूल्य बराबरको मालवस्तु आयात भएको र २० करोड ३० लाख रुपैयाँ मूल्य बराबरको मालवस्तु चीनतर्फ निर्यात भएको छ। साथै, कोरलानाकाबाट भित्रिएका २,३४७ वटा विद्युतीय सवारीसाधन१,८०४ वटा मालवाहक कन्टेनर भन्सार जाँचपास भएका छन्।

गत असार र साउनमा पहिरोका कारण रसुवागढी र तातोपानी नाका बन्द भएपछि कोरलानाका नाका वैकल्पिक नाका रूपमा प्रयोग गरिएको थियो। त्यसपछि नेपाल सरकार भन्सार विभागले यस नाकालाई पूर्ण रूपमा सञ्चालनमा ल्याएको थियो।

सामान्यतया वार्षिक १०–१५ लाख रुपैयाँ मात्र राजस्व संकलन गर्ने मुस्ताङ भन्सार कार्यालयले असोजदेखि उल्लेखनीय रूपमा राजस्व संकलन गर्न सफल भएको बताइएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार