• २०८२ चैत्र १३ गते शुक्रवार
  • Preeti To Unicode

स्याङ्जामा यस वर्ष ४,२७५ विद्यार्थी सहभागी हुँदै माध्यमिक शिक्षा परीक्षा

स्याङ्जामा यस वर्ष ४,२७५ विद्यार्थी सहभागी हुँदै माध्यमिक शिक्षा परीक्षा

स्याङ्जा, १२ चैत – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्याङ्जाबाट ४,२७५ जना विद्यार्थी सहभागी हुने भएका छन्। शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जाका अनुसार, नियमिततर्फ ३,२२१ र ग्रेडवृद्धितर्फ १,०५४ विद्यार्थी परीक्षा दिनेछन्।

छात्र र छात्रा संख्या यसपटक लगभग बराबर भए पनि छात्र संख्या छात्राभन्दा ७३ ले बढी देखिएको छ। छात्र २,१७४ र छात्रा २,१०१ जना रहेका छन्।

जिल्लाका ६ प्राविधिक विद्यालयबाट ११६ विद्यार्थी र संस्कृत तथा वेदविद्याश्रम धाराबाट १६ विद्यार्थी परीक्षा दिने तयारीमा छन्।

जिल्लाभर २१ परीक्षा केन्द्र निर्धारण गरिएको छ। वालिङ नगरपालिकामा सबैभन्दा बढी ५ केन्द्र छन् भने पुतलीबजारमा ३, भीरकोट, गल्याङ र चापाकोटमा २/२, कालीगण्डकी गाउँपालिकामा २ र अन्य गाउँपालिकामा १/१ केन्द्र रहेको छ। प्रत्येक केन्द्रमा सम्बन्धित विद्यालयका प्रधानाध्यापक वा सहायक प्रधानाध्यापकलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ।

गत वर्षको तुलनामा विद्यार्थी संख्या घटेसँगै परीक्षा केन्द्र पनि २५ बाट घटेर २१ कायम गरिएको छ। न्यूनतम विद्यार्थी संख्या नपुगेका केन्द्रहरू खारेज गरिएका हुन्।

सामुदायिक विद्यालयतर्फ सबैभन्दा बढी विद्यार्थी त्रिभुवन आदर्श मावि, पुतलीबजार, र संस्थागत विद्यालयतर्फ पायोनिअर्स मावि, वालिङ मा सहभागी हुनेछन्।

प्रकाशित मिति : २०८२ चैत्र १२ गते बिहिवार